नेपाल–भारत सीमा नाका आइतबार राती १२ बजेदेखि दुई दिन बन्द हुने

राजविराज । भारतमा हुन लागेको विधानसभा आम निर्वाचनलाई लक्षित गर्दै सप्तरी जिल्लासँग जोडिएका सबै सीमा नाका दुई दिनका लागि बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, सप्तरीले शुक्रबार एक सूचना जारी गर्दै भारतको विभिन्न जिल्लामा २०८२ कात्तिक २५ गते मा हुने मतदानलाई मध्यनजर गर्दै सुरक्षात्मक कारणले सीमा नाका अस्थायी रूपमा बन्द गरिने जनाएको हो । जिल्ला प्रशासनले दिएको जानकारी अनुसार २०८२ कात्तिक २३ गते आइतबार राति १२ बजेदेखि कात्तिक २५ गते मङ्गलबार राति १२ बजेसम्म भारतसँगको सबै सीमा नाकाहरू हुँदै मानिस र सवारीसाधनको आवतजावत पूर्ण रूपमा निषेध गरिएको छ ।

नेपाल–भारत समकक्षी निकायबीच भएको बैठकमा भएको समझदारी अनुसार निर्णय कार्यान्वयनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलद्वारा जारी सूचनामा उल्लेख छ । सप्तरी जिल्लाको दक्षिणी सीमामा पर्ने मधुबनी र सुपौल जिल्लाहरूमा हुने विधान सभा चुनावका क्रममा सुरक्षालाई प्राथमिकता दिँदै यस्तो कदम चालिएको प्रशासनले जनाएको छ ।

प्रशासनले सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी, व्यापारी र यात्रुहरूलाई उक्त अवधिभर अनावश्यक आवतजावत नगरी सुरक्षाकर्मीको सहयोग गर्न आग्रह गरेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस