स्वायत्त मधेशको माग विखण्डन होइनः सचिव साह

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले स्वायत्त मधेशको मागलाई “विखण्डन” भनेर चित्रण गर्नु गैरजिम्मेवार र पूर्वाग्रही सोचको परिणाम भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफ्ना विचार राख्दै भनेका छन् ‘मधेशी जनताको माग विभाजनकारी सोच होइन, बरु देशभित्र समान अधिकार, आत्मसम्मान र पहिचानको वैध आन्दोलन हो ।’ अधिकार दिन नचाहनेहरूले अधिकार माग्नेलाई विखण्डनकारी ठहराउने परम्परा नेपालमा पुरानै रहेको भन्दै जब कसैले आफ्नो हक र पहिचानको कुरा गर्दा त्यसलाई बदनाम गर्न यही शब्द प्रयोग गर्ने गरेको टिप्पणी गरेका छन् ।

मधेशीमाथि लगाइने गरेको यस्ता आरोपले उल्टै जनतालाई गोलवद्ध बनाउन र प्रतिरोधको स्वर अझ प्रखर बनाउन मद्दत मिल्ने गरेको सचिव साहको भनाइ छ । उनले अझ स्पष्ट पार्दै लेखेका छन् ‘कसैले पनि चाहेर विखण्डन गर्दैन, जबसम्म अवस्था सह्य रहन्छ, तबसम्म कुनै समुदाय अलग बाटो खोज्दैन, तर जब अन्याय, उपेक्षा र अपमानको सीमा नाघ्छ, जब अस्तित्व र संस्कृतिमाथि प्रहार हुन्छ, तब प्रतिरोध अपरिहार्य बन्छ ।’

मधेशी जनताले निरन्तर असमानता र अपमान सहँदै आएको चर्चा गर्दै उनले उल्लेख गरेका छन् ‘स्वायत्त मधेशको माग विखण्डन होइन यो समान अधिकार, आत्मसम्मान र न्यायको खोज हो, जसलाई प्रत्येक लोकतान्त्रिक मनले सम्मान गर्नुपर्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस