काठमाण्डौ । पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आफ्नो पहिलो जित दर्ता गरेको छ।
सुरुवाती दुई खेलमा पराजित रहेको पोखराले बिहीबार साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले हराउँदै प्रतिस्पर्धामा पुनः फर्कने संकेत दिएको हो। टस जितेर पहिले ब्याटिङ गरेको पोखराका अलराउन्डर सुमित वर्मा चम्किए। उनले २९ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ५० रन जोडे। दिनेश खरेलले ३९, तृतराज दासले २९ र एडम रोसिङग्टनले २४ रन थपेपछि पोखराले निर्धारित २० ओभरमा ६ विकेटका क्षतिमा १५५ रन बनायो।
जवाफमा १५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स कमजोर प्रदर्शन गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३० रनमै रोकियो। पोखराका स्पिनर विपिन खत्री बलिङतर्फ सर्वाधिक चम्किए। उनले ४ ओभरमा मात्र १५ रन दिएर ४ विकेट लिन सफल भए। त्यस्तै, सुमित वर्माले २ विकेट, जबकि कप्तान कुशल भुर्तेल र जिमी निशमले समान १–१ विकेट लिए।
जनकपुरतर्फ वायने पार्नेलले ३८ बलमा ५० रन बनाए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्। सञ्जय कृष्णमूर्तिले २५ तथा माज साजाकातले २० रन जोडे। बलिङतर्फ जनकपुरका सञ्जयले ३ विकेट लिए।
यस जितसँगै पोखराले प्रतियोगिताका पहिलो २ अंक जोडेको छ।