राजविराज । राजविराज स्थित करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने सरकारी निर्णयविरुद्ध आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरीको रिले अनसन शनिवार पनि जारी रहेको छ ।
आन्तरिक राजस्व कार्यालय राजविराजमा स्थापना गर्नुपर्ने मागसहित दोस्रो दिन सुनचाँदी व्यवसायी संघले रिले अनसनलाई निरन्तरता दिएका हुन् । राजविराजमा आन्तरिक राजस्व कार्यालय स्थापना नहुँदा व्यवसायीहरू अनावश्यक दुःख, समय र खर्च व्यहोर्न बाध्य भएको बताउँदै सम्बन्धित निकायलाई गम्भीर बन्न संघले आग्रह गरेको छ ।
यसअघि पहिलो दिनको रिले अनसनमा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, उपप्रमुख शम्भु यादव, राजविराज नगरपालिकाका कावा मेयर इसरत परविन, डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मुखिया, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादव, तिरहुत गाउँपालिकाका अध्यक्ष विजय कुमार यादव, राजविराज नगरपालिकाका निलम्बित मेयर भीमराज यादव, शम्भुनाथ नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्ता, अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका वडा अध्यक्ष तेजनारायण यादव लगायतका जनप्रतिनिधिहरु सहभागी थिए ।
गाभ्ने वा खारेज गर्ने कार्य निर्णय अविलम्ब फिर्ता लिई आफुहरुको माग अविलम्ब सम्बोधन गर्न सरकारसँग संघर्ष समितिले माग गरेका छन् । माग पुरा नभएसम्म संघर्ष जारी रहने समितिका मोहन यादवले जानकारी दिएका छन् ।
राजविराजस्थित करदाता सेवा कार्यालयमा ७२ हजारभन्दा बढी करदाताहरू छन् र गत आर्थिक वर्षमा यस कार्यालयले १ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको थियो । सरकारले देशभरका ३७ करदाता सेवा कार्यालय खारेज गरी सेवा आन्तरिक राजस्व कार्यालयमार्फत प्रदान गर्ने नीति अघि बढाएको छ ।