राजविराज । टिकटकलगायत सामाजिक सञ्जालमा धार्मिक तथा सांस्कृतिक विषयलाई लिएर फैलिएको विवादका कारण मधेश प्रदेशमा तनाव बढ्दै गएको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय पर्साले पर्सा जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबैलाई संयमता अपनाउन आह्वान गरेको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज सार्वजनिक अपिल जारी गर्दै सामाजिक सद्भावमा खलल पुर्याउने कुनै पनि किसिमका गतिविधिमा संलग्न नहुन सबै पक्षलाई आग्रह गरेका छन्। उनले सामाजिक तथा धार्मिक वा सांस्कृतिक द्वेष फैलाउने, राष्ट्रिय एकतामा आँच पुर्याउने तथा झुटा अफवाह फैलाएर समुदायबीच वैमनस्यता सिर्जना गर्ने कार्यलाई गम्भीर अपराधको रूपमा लिइने स्पष्ट पारेका छन्।
प्रमुख जिल्ला अधिकारी दाहालले सामाजिक सञ्जालमार्फत यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतका खातामाथि सूक्ष्म निगरानी भइरहेको जानकारी दिए। उनले यस्ता कार्यमा संलग्न देखिएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएका छन्।
टिकटकमा एकअर्काको धर्म र संस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरिएको विषयलाई लिएर मधेश प्रदेशमा तनावको अवस्था सिर्जना भएको छ। धनुषामा भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ। विहानैदेखि प्रदर्शन जारी रहेकाे छ ।
केही दिनअघि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नामका युवाहरूले टिकटकमा हिन्दुस्तानको नाम उल्लेख गर्दै भिडियो पोस्ट गरेका थिए। उक्त भिडियो धार्मिक सहिष्णुतामा खलल पुर्याउने खालको भएको भन्दै स्थानीय अगुवाहरूले उनीहरूलाई प्रहरीको जिम्मा लगाएका थिए।