राष्ट्रियता : पोसाकमा कि भावनामा ?

धीरेन्द्र प्रेमर्षि
इस्वी सन् २०२६ को प्रारम्भिक समयमा छौँ हामी। नववर्षको दिन एकातिर अङ्ग्रेजी नयाँ वर्षको शुभकामना साटासाट गरिन्छ भने अर्कोतिर नेपालमा फर्स्ट जनवरीको दिनलाई ‘राष्ट्रिय पोसाक दिवस’ वा ‘टोपी दिवस’का रूपमा मनाउने चलन बसिसकेको छ। यसैको लहैलहैमा मधेसका साथी/भाइहरूले ‘हामी पनि के कम’ भन्ने भावले ‘धोती दिवस’ मनाउन थालेका छन्। आज म यसै सेरोफेरोमा रहेर केही मनका कुराहरू पोख्न चाहन्छु।

हुन त मेरो परिचय मैथिली भाषा, साहित्य र संस्कृतिसँग बढी जोडिएको छ। सामाजिक सञ्जालमा पनि म प्रायः मैथिली भाषामै आफ्ना विचार राख्ने गर्छु। तर, आज म जानीजानी नेपाली भाषामा मनोभाव पोख्दैछु। किनकि जब मलाई मेरा कुराहरू हिमाल, पहाड र तराईका सम्पूर्ण आम नेपाली नागरिकसम्म मूल भाषाकै रूपमा सहज रूपले पुगोस् भन्ने लाग्छ, तब म नेपाली भाषा रोज्ने गर्छु। अन्यथा मेरो सहज र मौलिक अभिव्यक्तिको माध्यम त मैथिली नै हो।

सर्वप्रथम त अङ्ग्रेजी नयाँ वर्षको उपलक्ष्यमा यहाँहरू सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यो इस्वी संवत् अब अन्तर्राष्ट्रिय मात्र रहेन, हाम्रो परिवेशमा ….. भारतको त यो औपचारिक संवत् नै बनेको छ भने नेपालमा पनि यसको प्रयोग र प्रभाव सुस्त-सुस्त बढ्दो क्रममा छ। तर, जनवरी १ लाई नै आधार मानेर जसरी हामीले ‘पोसाक दिवस’ वा ‘टोपी र धोती दिवस’ मनाइरहेका छौँ, त्यसमा मेरो थोरै फरक धारणा छ।

यो दिवस मनाउनु पछाडिको तर्क र मौसमको प्रतिकूलतासमेतलाई हेर्दा यो अलि अमिल्दो देखिन्छ। पुसको यस्तो कठ्याङ्ग्रिँदो जाडोमा पातलो धोती वा साधारण टोपी लगाएर दिवस मनाउनु कत्तिको व्यावहारिक हो? पोसाक स्वयंमा मौसम सापेक्ष हुने गर्दछ र हुनुपर्दछ। मौसमको अनुकूलतालाई हेर्ने हो भने त यतिखेर हिमाली भेगमा लगाइने बाक्लो ‘बख्खु’ लगाएर ‘बख्खु दिवस’ मनाएको भए बढी उपयुक्त र तार्किक हुन्थ्यो होला। यसले हिमालको सम्मान पनि हुने र जाडोलाई पनि जितिने थियो।

टोपीले त लौ, जीउमा अरू जेसुकै लाए तापनि शिरमै मात्र लगाइने भएकोले जाडोमा पनि बिताउने खाले असर नै पार्दैन। तर काठमाडौँको चिसोमा मधेसी युवाहरूले पाइन्टमाथिबाट धोती बेरेर ‘धोती दिवस’ मनाएको दृश्यचाहिँ उदेकलाग्दै देखिन्छ। धोती त गर्मी ठाउँ र गर्मी यामको एउटा सौम्य तथा शालीन पहिरन हो। यसरी पाइन्ट माथिबाट कर्मकाण्डी रूपमा धोती बेरेर प्रदर्शन गर्नुले धोतीको सम्मान भइरहेको छ कि अपमान? कताकता यस प्रकार धोती दिवसमा धोतीकै हरिबिजोग भइरहेजस्तो लाग्छ।

यसमा विचार गर्नुपर्ने बेला आएको छ। हाम्रो पुर्खाको सभ्यता र संस्कृतिको धरोहरलाई यसरी लहडमा लगाइएको नारा सफल पार्न सस्तो प्रदर्शनमा उतार्नु शायद उचित होइन कि! हाम्रो मिथिला-मधेशका जागरुक युवाहरूले एकचोटि यसरी पनि सोचौँ। कि त लाउने नै हो भने जाडो सहेर भए पनि यसलाई सौम्य-शालीन धोती-कुर्ता, बण्डी, गम्छा, पाग आदि सम्पूर्ण रूपमा कम्तीमा दिनभरिका लागि लगाउने धैर्य र साहस देखाउँ। यस सन्दर्भमा हाम्रो मिथिलाका एकजना भाइ Mohan Mahato Koiri को अगुवाइमा विगत केही वर्षदेखि आयोजित हुन थालेको छठिघाटमा आफ्नो पारम्परिक पहिरनको अभियान मलाई बडो सार्थक, सकारात्मक र समयानुकूल लाग्ने गरेको छ। हामीले धोती दिवस मनाउने नै हो भने मोहनको अभियानलाई थप व्यापकता दिएर साँचो अर्थमा धोतीलाई महिमामण्डन गर्न सक्छौँ।

अन्तर्राष्ट्रिय रूपमा मनाउने गरिएको इस्वी संवत्‌को नववर्षलाई नेपालीपनको भाव वा अहंले झान्ने प्रक्रियास्वरूप राष्ट्रिय पोसाक दिवस भनेर मनाउनु पनि स्वयंमा विचारणीय प्रसङ्ग नै हो। उसै पनि राष्ट्रियतालाई कुनै खास पोसाक, प्रतीक वा चिह्‌नमा खुम्च्याउनु मानवोचित लोकतान्त्रिक काइदा हुन सक्दैन। आदरणीय साहित्यकार मनु ब्राजाकीले आफ्नो एक गजलमा यस प्रसङ्गलाई सटिक रूपमा अभिव्यक्त गर्नुभएको छ :

“लुटिँदै छ देश मेरो राष्ट्रगीत गाउनेबाट,
दौरा-सुरुवाल, ढाकाटोपी मिलाएर लाउनेबाट।”

हामी राष्ट्रियताको कुरा गर्न जहिल्यै तँछाड-मछाड गरिरहेका हुन्छौँ, तर देशको अवस्था दिनानुदिन खस्कँदो छ। यदि देशले लिनुपर्ने जस्तो गति लिएको छैन, देश बिग्रेको छ भनेर मान्ने हो भने देश बिगार्नेहरूले पनि त राष्ट्रिय पोसाक नै लगाएका थिए! वास्तवमा भन्ने हो भने देश तिनै व्यक्तिहरूले बिगारेका छन्, ज-जसले बनाउने जिम्मेवारी पाएका छन्। र, बनाउनेहरूले बनाउने अभियान शुरू गर्नुभन्दा पहिले आफ्ना लागि लवेदा-सुरुवाल बनाउन (सिलाउन) लाउँने त हामीकहाँको परम्परा नै हो। त्यसैले जीउमा राष्ट्रिय पोसाक बेरेर मात्र कोही राष्ट्रवादी हुँदैन, राष्ट्रियता त छातीभित्र तहतह मिलेर बसेको हुनुपर्छ।

टोपी शिरपोस हो, यसले दायित्वबोध गराउनुपर्छ। तर टोपी वा धोती लगाउँदैमा वा एक दिन ती पहिरनको नाउँमा दिवस मनाउँदैमा पोसाकैप्रति पनि हाम्रो दायित्व पूरा हुँदैन। मेरो आफ्नै कुरा गर्ने हो भने पनि मलाई दौरा-सुरुवाल र धोती-कुर्ता दुवै उत्तिकै मनपर्छ। म दुबैथरी पोसाक प्रायः अवसर विशेषमा मात्र नभई साधारणतया पनि लाइरहेको हुन्छु। यी दुबैथरी पोसाक मलाई सुन्दर, सरल, सहज र आनन्ददायक लाग्छन्। तर कसैले ‘यो लुगा लगाए मात्र तँ राष्ट्रवादी हुन्छस्’ भनेर भन्छ भने त्यो मलाई राष्ट्रियता नभई दासताको दाम्लो जस्तो लाग्छ। लोकतान्त्रिक मुलुकको नागरिकलाई यस्तो बन्धन फिटक्कै सुहाउँदैन।

राष्ट्रियताका सन्दर्भमा पोसाकभन्दा पनि ठुलो कुरा हाम्रो आत्मसम्मान र भावना हो। भारतीय सेनामा भर्ती हुन गएका एकजना गोर्खालीलाई उचाइ नाप्ने बेला ‘टोपी फुकाल’ भन्दा उनले दिएको जवाफ मर्मस्पर्शी छ। उनले भने, “साब, यो टोपी लगाएरै त मेरो कद (उचाइ) बढेको हो।” हो, टोपीले दिने उचाइ त्यो हो। तर कवि अर्जुन पराजुलीले भनेझैँ–

“जसले
टोपी कहिल्यै लाउँदैन
उसले टोपी दिवस मनाउँछ
टोपी लाउनेले दिवस मनाउँदैन
उसले त दिनहुँ टोपी लाउँछ!”

कवि पराजुलीले लेखेझैँ विडम्बना विभिन्न क्षेत्रमा रहेको पाइन्छ। चाहे टोपी होस् चाहे धोती, हरेक सन्दर्भमा यो कुरा लागु हुन्छ। दिवसले केही गर्ने नै हो भने सम्बन्धित क्षेत्रमा थप प्रतिबद्ध रहने भावनाको विकास हो।

अङ्ग्रेजी नयाँ वर्षले हामीलाई कसैगरी उद्वेलित नै पारेको छ भने त्यसलाई त्यस दिनको सन्दर्भमा स्थापित परम्परा अनुसारै मनाउँदा के फरक पर्छ र? र यदि यस दिनलाई आफ्नै अनुसार मनाउने हो भने हाम्रै देश-परिवेश अनुकूल मनाए भइहाल्यो नि! यसका लागि हामीले कृत्रिम प्रतीकहरूको किन सहारा लिनुपर्‍यो? हामीले आफ्नै देशका चाड-पर्व-संस्कारहरूलाई प्रवर्द्धन गर्न सक्छौँ। जस्तो कि, यो मध्य पुसमा मूल कर्णाली क्षेत्रमा ‘भुओ’ पर्व तथा ‘भैलो’ मनाइन्छ।

चाडपर्वहरू प्रायः कृषिसँग जोडिएको हुने र पुस-माघको हिँउँले डम्म ढाकेको समयमा खेतीपातीको काम ठप्प हुने भएपछि यसैबेला राम-रमाइलो गरिने पर्वहरू मनाइन्छन्। त्यसैगरी मिथिला क्षेत्रमा ‘बगिया’ (चामलको पिठोबाट बनाइने परिकार) पकाउने र खाने विशेष चलन छ। बगिया मिथिला क्षेत्रको कतिसम्म लोकप्रिय र संस्कारनिष्ठ खाद्य हो भने मैथिलीमा ‘बगियाके गाछ’ अर्थात् ‘बगियाको रुख’ भन्ने लोककथा नै प्रचलित छै। यसैगरी नवजात शिशुलाई पहिलो पुसमा मनतातो बगियाले गाला सेक्ने उत्सवको रूपमा पुसौठ मनाउने गरिन्छ। काठमाडौँ उपत्यकाका नेवार समुदायमा योमरी पुन्ही मनाइएजस्तै हामी मैथिलहरूले पुसको यो समयलाई ‘बगिया दिवस’ वा ‘भुवो पर्व’का रूपमा मनाउन सक्छौँ। भुवो र भैलोको संवाहकका रूपमा रहने देउडा गायनलाई आत्मसात गर्दै यसै समयलाई देउडा दिवसको रूपमा पनि मनाउन सकिन्छ।

कस्तो गजब हुन्थ्यो होला- काठमाडौँमा, पोखरामा वा नेपालगन्जमा ‘भुवो’ खेलेर, ‘बगिया’ खाएर महिमामण्डित गर्दा! यसले कर्णाली र मिथिलाको संस्कृतिलाई जोड्छ र समग्रमा त्यो नेपालको संस्कृति बन्न जान्छ। यसरी एकले अर्काको संस्कृतिलाई सम्मान गर्ने र अपनत्व लिने वातावरण बनाउँछ। ‘तँभन्दा म के कम’ भन्ने होडबाजी र प्रतिक्रियात्मक दिवस मनाउनुभन्दा एक-अर्काको संस्कृतिलाई जोडेर भावनात्मक एकता बलियो बनाउनु आजको आवश्यकता हो। जसरी मिथिलाको छठि पर्व आज सिङ्गो देशको पर्व बनेको छ, त्यसैगरी हाम्रा अन्य संस्कृतिहरूलाई पनि साटासाट र विस्तार गरौँ।

अन्त्यमा, राष्ट्रियता भनेको एकले अर्काको खुट्टा तान्नु वा एक दिनको देखावटी प्रदर्शन गर्नु होइन। समय र स्थान विशेष अनुसारको सभ्यता र संस्कृतिलाई आत्मसात गर्दै एक-अर्काको अस्तित्व स्वीकार गरेर अगाडि बढ्नु नै सच्चा राष्ट्रियता हो। आउनुहोस्, फगत पोसाकको रङ र किसिममा अल्झिनुभन्दा मन र संस्कृतिको मिलनमा रमाऔँ।

लेखक प्रेमर्षि लेखक, पत्रकार एवम् साहित्यकार हुन् । उनी समसामयिक विषयमा कलम चलाउँछन् । सं.

Cover Image: AI

Author:



क्याटोगरी छान्‍नुहोस