एमाले र जनमत परित्याग गरी दुई नेता जसपा नेपालमा प्रवेश

सर्लाही/जनकपुरधाम । विभिन्न राजनीतिक दल परित्याग गरी दुई जना नेता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।

नेकपा एमाले परित्याग गरी सर्लाहीको हरिवन नगरपालिका–१, भोकटेनी निवासी बिनोद यादव जसपा नेपालमा प्रवेश गरेका हुन्। उनलाई जसपा नेपालका सर्लाही जिल्ला अध्यक्ष रणधिर यादवले औपचारिक रूपमा पार्टीमा स्वागत गरेका थिए। सो अवसरमा जसपा नेपालका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो।

यसअघि किसान महासंघका केन्द्रीय महासचिवसमेत रहिसकेका अनुभवी नेता यादवले पार्टी प्रवेशपछि बोल्दै नेकपा एमालेले मधेशविरोधी गतिविधि गर्दै आएको आरोप लगाए। मधेशको हकहित, अधिकार तथा किसानका मुद्दालाई निरन्तर र प्रभावकारी रूपमा उठाउँदै आएको मधेश केन्द्रित दल जसपा नेपालमै पुनः आफू आबद्ध भएको उनले बताए।

यसैगरी, जनमत पार्टीका राष्ट्रिय परिषद् सदस्य राम विश्वास रायले पनि जनमत पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका छन्। उनलाई पनि जिल्ला अध्यक्ष रणधिर यादवले पार्टीमा स्वागत गर्दै औपचारिक रूपमा प्रवेश गराएका हुन्।

राम विश्वास रायले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर १ बाट जनमत पार्टीको तर्फबाट उम्मेदवारी दिँदै करिब ४ हजार २ सय मत प्राप्त गरेका थिए। मधेशकेन्द्रित मुद्दा, समावेशिता र सामाजिक न्यायको एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन जसपा नेपाल उपयुक्त राजनीतिक मञ्च भएको निष्कर्षसहित आफूले पार्टी परिवर्तन गरेको उनले बताए।

जसपा नेपालले यी दुवै नेताको पार्टी प्रवेशसँगै संगठन थप सुदृढ हुने र किसान तथा मधेशी मुद्दामा पार्टी अझ बलियो बन्ने विश्वास व्यक्त गरेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस