राजविराज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट सम्भावित उम्मेदवारको रुपमा सह–प्राध्यापक डा. शिवनारायण यादवको नाम चर्चामा आएको छ ।
विगतमा अधिकांश जनप्रतिनिधि जनताप्रति जिम्मेवार नभएका कारण अपेक्षाकृत विकास हुन नसकेको तथा शिक्षा क्षेत्र झनै धरासायी भएको भन्दै सुधारका लागि डा. यादवको नाम वौद्धिक जमातमा चर्चामा आएको हो । शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाएका उनको प्रतिनिधित्व नीति निर्माण तहमा आवश्यक रहेको भन्दै सप्तरीमा सम्भावित उम्मेदवारको नाम चर्चामा रहेको छ ।
वौद्धिक, इमानदार तथा स्वच्छ छवि भएका डा. राजनीतिमा सक्रिय नरहे पनि हालसम्मका जनप्रतिनिधीहरुभन्दा नयाँ र समर्पित अनुहारको रुपमा उनलाई हेरिएको छ । विद्यार्थी जिवनकालदेखि बामपन्थी विचारधारा अङ्गाल्दैआएका छन् । जनमानसमा चर्चित डा. यादवको नाम नेपाली कम्युनिष्ट पार्टीमा समेत छलफलमा रहेको पार्टी श्रोतले जनाएको छ ।
यस विषयमा डा. यादवसँग बुझ्दा आफुकहाँ समेत वौद्धिक जमात तथा सर्वसाधारण समेतबाट उम्मेदवार बन्नका लागि आग्रह भइरहेको स्वीकार गरेका छन् । विगतमा जनप्रतिनिधीहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेका कारण जनअसन्तुष्टि बढ्नु स्वाभाविक रहेको बताउँदै उनले भने ‘मैले उम्मेदवारी दिनुपर्ने विषयमा आएका जनताको आग्रहलाई म सम्मान गर्छु, यस विषयमा औपचारिक निर्णय लिन आवश्यक गृहकार्यमा छु ।’
डा. यादव त्रिभुवन विश्वविद्यालयको किर्तिपुर स्थित केन्द्रीय भौतिकशास्त्र विभागमा सह–प्राध्यापकका रूपमा कार्यरत छन् । यसका साथै उनी २०८० मा निर्वाचित त्रिवि सिनेट सदस्य समेत हुन् । २०७९ सालदेखि त्रिभुवन विश्वविद्यालय शैक्षिक परिषद्का सदस्यका रूपमा सक्रिय छन् ।
शिक्षा क्षेत्रमा लामो अनुभव हासिल गरेका डा. यादवले खगोल भौतिकी (Astrophysics) तथा अन्तरिक्ष विज्ञान (Space Science) विषयमा त्रिभुवन विश्वविद्यालयबाट पीएच.डी. उपाधि प्राप्त गरेका छन् । प्रा. डा. विनिल अर्याल तथा प्रा. डा. वाल्टर सावरारको निर्देशनमा उनले अनुसन्धान पुरा गरेका हुन् ।
डा. यादवले २०४३ साल असोज ३ गते तत्कालिन कम्युनिष्ट नेता जयकृष्ण गोइतबाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्दै राजनीतिमा आवद्ध भएका थिए । शिक्षा, अनुसन्धान र शैक्षिक सुशासनका सवालमा स्पष्ट धारणा राख्दै आएका डा. यादव शिक्षा क्षेत्रमा चर्चित छन् ।