शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न प्रदेश प्रमुख लाभकाे अपिल

जनकपुरधाम । मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभले पछिल्लो समय केही स्थानमा देखिएका अस्वाभाविक गतिविधि तथा असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै समाजमा शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबैलाई अपिल गरेका छन्।

आइतबार जारी एक सन्देशमार्फत प्रदेश प्रमुख लाभले मधेश प्रदेश विभिन्न भाषा, धर्म, संस्कृति र परम्पराको सुन्दर संगमस्थल रहेको उल्लेख गर्दै परापूर्वकालदेखि नै आपसी सम्मान, सहिष्णुता र भाइचाराको संस्कारलाई आत्मसात् गर्दै आएको बताए। ‘अतिथि देवो भवः’ र ‘वसुधैव कुटुम्बकम्’ जस्ता मान्यताले मधेशी समाजलाई एकताबद्ध बनाउँदै आएको उल्लेख गर्दै उनले ती मूल्य र संस्कारलाई व्यवहारमा उतार्न आग्रह गरेका छन्।

प्रदेश प्रमुख लाभले समाजलाई विभाजन गर्ने तत्वहरूप्रति सचेत रहन आग्रह गर्दै कुनै पनि प्रकारको उत्तेजना वा आवेगमा नआई धैर्य अपनाउन सबै नागरिकलाई अनुरोध गरे। विचार र आस्थामा भिन्नता हुन सक्ने भए पनि मानवीय पहिचान र सामाजिक एकता साझा रहेको उनको भनाइ थियो।

सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कसैको भावना आहत हुने गतिविधि नगर्न आग्रह गर्दै उनले समाजमा अमनचयन कायम राख्न सबै एकजुट हुनुपर्नेमा जोड दिए। संवाद र सहकार्यबाट हरेक समस्याको समाधान सम्भव हुने उल्लेख गर्दै प्रदेश प्रमुख लाभले मधेश केवल विविधताको भूमि मात्र नभई अटुट एकता र प्रेमको भूमि भएको पुनः प्रमाणित गर्न सबैलाई आह्वान गरेका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस