काठमाडौँ । भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिक मान्यता दिएको छ ।
आयोगको शुक्रबार बसेको बैठकले थापालाई पार्टी सभापतिको रूपमा मान्यता प्रदान गरेको हो । पुस २७ देखि ३० गतेसम्म राजधानीमा सम्पन्न विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थितिमा थापा सभापति चयन भएका थिए ।
सभापति चयनपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित उनले आयोगमा आधिकारिकताको दाबी गर्दै आवश्यक कागजात पेश गरेका थिए । आयोगले सबै कागजात अध्ययन गरी थापा नेतृत्वको केन्द्रीय समितिलाई वैध ठहर गरेको जनाएको छ ।
यससँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा शेरबहादुर देउवा पक्षबाट गुमेको छ । देउवा पक्षले पनि आफू नै आधिकारिक नेतृत्व भएको दाबी गर्दै आयोगमा कागजात बुझाएको थियो । तर आयोगले अन्ततः थापा नेतृत्वको समूहलाई मान्यता दिएको हो ।