सुनसरी । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भयरहित वातावरणमा मतदाताले ढुक्कसँग मतदान गर्न सक्ने अवस्था बनाउन सरकारले अझै पर्याप्त तयारी गर्न नसकेको बताएका छन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपाल मानवअधिकार सङ्गठनले सुनसरीको इटहरीमा आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै मुख्यमन्त्री कार्कीले तोकिएको मितिमा निर्वाचन हुने–नहुने विषयमै अन्योल देखिएको उल्लेख गरे। उनले वर्तमान सरकारले सङ्गठित अपराधलगायतका मुद्दा फिर्ता लिएको, कारागारबाट फरार कैदीबन्दी र सुरक्षा निकायबाट लुटिएका हतियार फिर्ता ल्याउन नसकेको अवस्थाले सरकारको निर्वाचन गराउने नियतप्रति शंका उत्पन्न भएको बताए।
इन्सेकका अध्यक्ष विजय राज गौतमले अघिल्ला निर्वाचनझैँ प्रतिनिधिसभा सदस्य निर्वाचनको पनि पर्यवेक्षण गरिने जानकारी दिए। कोशी प्रदेश प्रहरी कार्यालयका डिआइजी विनोद घिमिरेले मतदानस्थलको वर्गीकरण गरी सुरक्षा रणनीति लागू गरिएकाले यसपटक अघिल्ला निर्वाचनभन्दा सुरक्षित वातावरण बन्ने दाबी गरे।
प्राध्यापक कृष्णप्रसाद पोखरेलले निर्वाचित प्रतिनिधिले जनताका समस्या समाधान नगर्दा आन्दोलन जन्मिएको बताए। इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेलले राजनीतिक दल मानवअधिकारप्रति इमानदार नहुँदा प्रत्येक निर्वाचनमा मानवअधिकारका सवाल उठ्दै आएको धारणा राखे।
नागरिक समाज इटहरीका पूर्व अध्यक्ष जगदीशप्रसाद ओलीले मतदान प्रक्रिया र यसको महत्व विद्यालय तहको पाठ्यक्रममै समावेश गर्नुपर्ने बताए। वरिष्ठ पत्रकार यज्ञ शर्माले इन्सेक र ह्युमन राइट्स अर्गनाइजेसनले मतदातालाई आश्वस्त बनाउन भूमिका खेल्नुपर्ने बताए। नियोकका दिनेश श्रेष्ठले प्रमुख राजनीतिक दल इमान्दार भए मात्र निर्वाचनको वैधता कायम हुने धारणा राखे।
एसओएस बालग्राम इटहरीका निर्देशक डीसी चौधरीले चुनावमा बालबालिकाको प्रयोग बालअधिकारविपरीत भएको बताए। नेपाल मानवअधिकार सङ्गठनका संस्थापक अध्यक्ष डा. आनन्द आचार्य, फिदिम नगरपालिकाका मेयर मित्रदेव काफ्ले र केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्यालले पनि स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन लोकतन्त्रको आधार भएकोमा जोड दिए। कार्यक्रम डा. केपी सुबेदीको अध्यक्षतामा इन्सेकका मनोहर पोखरेलले सञ्चालन गरेका थिए भने जयबहादुर श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए।