बिटु मिश्र वत्स
माननीय अर्थमन्त्री डा. स्वर्णीम वाग्लेज्यूलाई “खुल्ला पत्र”: के तपाईंलाई थाहा छ, भारतीयहरूले नेपाली पैसा फेरि नेपालमै खर्च गर्छन्?
माननीय मन्त्रीज्यू,
भन्छन, “एउटा हुन्छ बुझ्नलाई पढ्ने, अर्को हुन्छ पास हुनलाई पढ्ने।” तपाईंका ‘वोर्डर व्यापार’ सम्बन्धि अभिव्यक्ति अंकित पोस्टरहरू देख्दा मलाई सोध्न मन लाग्यो, के तपाईंले ती विश्वप्रसिद्ध विश्वविद्यालयहरूमा केवल ‘पास’ हुनलाई मात्र पढ्नुभएको हो कि भुँइमान्छेको आर्थिक धरातल ‘बुझ्न’ पनि?
मन्त्रीज्यू, तपाईंका चिल्ला पोस्टरहरूले जुन ‘भ्रम’ को खेती गरिरहेका छन्, त्यसले सिमानामा बस्ने लाखौँ नेपालीको बाध्यता र त्यहाँको बजार संयन्त्रलाई सरासर अपमान गरेको छ। जहाँ विश्व बजारमा दुई देशबीचको कारोबार डलरमा हुन्छ भनिन्छ, त्यहाँ हाम्रो नेपाली रुपैयाँले विदेशी भूमिमा निर्धक्क व्यापार गरिरहेको छ। यो हाम्रो मुद्राको विश्वसनियता र सामर्थ्य हो। सायद तपाईंलाई थाहा छैन होला, सीमावर्ती क्षेत्रका बासिन्दाले ४०-५० किलोमिटरसम्मको भारतीय बजारमा पनि नेपाली मुद्रामै किनमेल गर्छन्। नेपाली पैसाले विदेशी बजारमा हैसियत राख्नु त गर्वको विषय हुनुपर्ने हो, तर तपाईं यसलाई “विदेशी देशको विकासमा चन्दा” भनेर परिभाषित गर्दै हुनुहुन्छ।
तपाईंका बैंकहरूले भारतीय मुद्रा साट्नमा अनेकौँ सीमा र नियम तोकेका होलान्। तर के ती विदेशी व्यापारीहरू आफ्नो संकलित नेपाली रुपैयाँ बोकेर तपाईंका बैंकमा लाइन लाग्न आउँछन् र? पक्कै आउँदैनन्। उनीहरूले त्यही नेपाली पैसा फेरि नेपालकै उत्पादनहरू किन्न, कृषिजन्य वस्तु लैजान र नेपालसँगकै अन्य व्यापारिक चक्र पूरा गर्न खर्च गरिरहेका हुन्छन्। यो पैसाको एउटा यस्तो प्राकृतिक बहाव हो जुन एसी कोठामा बसेर बनाइने साँघुरो नीति र तथ्याङ्कको ग्राफमा अटाउँदैन।
जब राज्यले आफ्नै भूमिमा नागरिकलाई सस्तो, सुलभ र व्यवस्थित बजार दिन सक्दैन, तब नागरिकले आफ्नो जीविकोपार्जनका लागि सहज विकल्प रोज्नु आर्थिक न्याय हो। आफ्नै देशको मुद्रा चल्ने ठाउँमा व्यवहारिक किनमेल गर्दा “देश गरिब बनाएको” बिल्ला भिराउनु कत्तिको न्यायोचित छ? अर्थतन्त्र सोसल मिडियाका पोस्टर र राष्ट्रवादका भावनात्मक नाराले होइन, उत्पादन र आपूर्ति व्यवस्थापनले बलियो हुन्छ।
तसर्थ मन्त्रीज्यू, किताबी सिद्धान्तमा तपाईं ‘पास’ हुनुभयो होला, तर सिमानाको आर्थिक धरातल र आम नागरिकको दैनिक संघर्ष बुझ्न तपाईं पूर्ण रूपमा ‘फेल’ हुनुहुन्छ। काठमाडौंको चश्मा फुकालेर कहिलेकाहीँ सिमानाका गाउँहरूमा पनि पुग्ने कष्ट गर्नुहोस्, जहाँ नेपाली पैसा त चल्छ तर विडम्बना, राज्यको बुद्धि चल्दैन!
एक सचेत नागरिक,
बिटु मिश्र वत्स
तिलाठी, सप्तरी
Source: facebook