जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरमा श्रीमान्–श्रीमती मृत अवस्थामा भेटिएका छन् ।
नैहरमा बस्दै आएकी ३० वर्षीया रीना देवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । उनको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार रीनाका श्रीमान् ३५ वर्षीय उमेश यादव घरदेखि करिब एक किलोमिटर टाढा रुखमा झुन्डिएको अवस्थामा आइतबार बिहान मृत भेटिएका हुन् । मिथिला बिहारी नगरपालिका–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । घटनाको एक दिनअघि मात्रै उनी ससुराली आएका थिए ।
मृतक दम्पतीका चार वर्षीय छोरा छन् । बालकको एक जाँघमा समेत धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ । डीएसपी खनालले घटनाको प्रकृति शंकास्पद देखिएको बताएका छन् । उनका अनुसार घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
घटनाको कारण तथा दम्पतीको मृत्युको परिस्थितिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।