काठमाडौं–पाथीभरा केबलकार विवादले उग्र रुप लिँदै गएपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिबार मध्यरातमा सूचना सार्वजनिक गर्दै निषेधाज्ञा जारी भएको जानकारी गराएका हुन्।
सूचनामा उल्लेख भए अनुसार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार क्षेत्र र पाथीभराको काफ्लेपाटी, बलुडाँडा क्षेत्रमा निषेधाज्ञा कार्यान्वयन हुनेछ।
स्थिति नियन्त्रणमा लिन फुङ्लिङ बजारमा आइतबार बिहान ५ बजेदेखि अनिश्चित कालका लागि प्रशासनले निषेध आदेश जारी गरेको हो ।
फुङलिङ बजारमा शनिबार भएको झडपमा प्रहरी र आन्दोलनकारी सहित १२ जना घाइते भएका छन् । नो केबलकार समुहले निकालेको राँके जुलुसलाई नियन्त्रण गर्ने क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्दा दोहोरो झडप भएको हो ।
नो केबलकार समूहका आन्दोलनकारीहरुले ताप्लेजुंङको काफ्लेपाटीमा प्रदर्शन गर्दै फुङलिङ बजारमा ¥यालीको आयोजना गरी राँके जुलुस निकालेका थिए ।
यसअघि गत बिहीबार काफ्लेपाटीमा भएको झडपमा प्रहरीसहित १४ घाइते भएका थिए भने गत माघ १२ गते भएको झडपमा प्रहरी सहित २४ घाइते भएका थिए । पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर विगत एक महिनादेखि क्षेत्र तनावग्रस्त बनेको छ ।