राजविराज, ३० वैशाख । सप्तरीको रुपनी गाउँपालिका–१ स्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको विशाल महायज्ञको मण्डपमा सोमबार साँझ आगलागी भएको छ ।
महायज्ञको समापनको दिन सन्ध्याको समयमा एक्कासी आगलागी हुँदा मुख्य मण्डप पूर्णरूपमा जलेर नष्ट भएको हो । हवन कार्यक्रम चलिरहेका बेला अत्यधिक मात्रामा घीउ विसर्जन गर्ने क्रममा अचानक आगोको लप्काले मण्डपमा लागलागी भएको । आगलागीबाट मण्डपमा सजाइएको लत्ताकपडा, हवन सामग्री, तथा अन्य पूजासम्बन्धी सामग्रीहरू पूर्णरूपमा नष्ट भएका छन् । मण्डपमा उपस्थित भक्तजन र आयोजक टोलीले तत्काल आगो निभाउने प्रयास गरे पनि क्षति रोक्न सकिएन ।
राजविराज नगरपालिकाबाट बारुणयन्त्र ढिलो पुगेको थियो । औद्योगिक क्षेत्रको भूमि शुद्धिकरणका लागि गत २१ बैशाखदेखि महायज्ञको आयोजना गरिएको थियो । महायज्ञमा एक हजार आठ मण्डपहरूमा कीर्तन मण्डली, हनुमान आराधना, वृन्दावनको रासलीला, रामलीला, रामचरितमानस पाठ, उच्चकोटीका विद्वानहरूद्वारा प्रवचन र विशाल भण्डाराको समेत आयोजना गरिएको थियो ।