मधेश प्रदेशसभाको सभामुख आइतबार चयन हुने

जनकपुरधाम । विगत केही समयदेखि रिक्त रहेको सभामुख पदको निर्वाचन आइतबार हुने भएको छ ।

प्रदेशसभा सचिव बासु प्रसाद कोइरालाद्वारा जारी सूचना अनुसार निर्वाचनका लागि उम्मेदवारी प्रस्ताव र समर्थन पठाउने प्रक्रिया शनिबार सम्पन्न हुनेछ । प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ अनुसार उपसभामुखले निर्वाचन मिति र समय निर्धारण गरेसँगै औपचारिक कार्यक्रम सार्वजनिक गरिएको हो ।

निर्वाचन कार्यक्रमअनुसार दर्ता भएका उम्मेदवारीको सूची पुष ५ गते दिउँसो ३ः३० बजे प्रकाशन हुनेछ । सार्वजनिक सूचीका आधारमा पुष ६ गते आइतबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा प्रस्तावकले उम्मेदवारलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् भने समर्थकले समर्थन जनाउनेछन् ।

उम्मेदवारीमाथि सामूहिक छलफलपछि दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरी सभामुख चयन गरिने प्रदेशसभा सचिव कोइरालाद्वारा जारी सूचनामा जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस