अप्रिय जँड्याहा दाइ ‘मानवता मार्ने विष हो रक्सी’

दिपा सिम्खडा

अप्रिय जँड्याहा दाइ 🙏

मैले कहिल्यै सोचेकी थिइनँ कि कुनै दिन म रक्सीले मात्तिएको मान्छेलाई चिठ्ठी लेख्न बस्छु भनेर। तर शारदा (नाम परिवर्तन गरिएको) को True Story सुनेपछि मेरो मनले मानेन र यो पत्र म तपाईंकै लागि लेख्दैछु। यदि तपाईँ अहिले नशामा हुनुहुन्छ र यी अक्षरहरू नाचिरहेका छन् भने, Please यसलाई अहिले नपढ्नुहोस्। Save गरेर राख्नुहोस्, जब तपाईँको होस आउँछ, तब मात्र पढ्नुहोस्, किनकि यी शब्दहरू नशामा होइन, मनमा पुग्न लेखिएका हुन्।

तपाईँलाई लाग्छ, रक्सी पिएर तपाईँले तनाव कम गर्नुभयो। होइन नि दाइ! तपाईँले त तनावलाई बोतलमा भरेर घरभित्र ल्याउनुभयो। “खाएँ त मेरै पैसाले खाएँ” भन्ने दाइ, यता सुन्नुस् त! हो, रक्सी किन्ने पैसा तपाईंकै होला दाइ। तर त्यो रक्सी पिएर तपाईँले जुन नशा घरभित्र ल्याउनुहुन्छ नि, त्यो नशाले तपाईँको परिवारको शान्ति खाएको छ। के तपाईँको परिवारले कहिल्यै तपाईँलाई रक्सी पिएकोमा धन्यवाद भनेका छन्? के तपाईँको छोराले “म ठुलो भएर बुवा जस्तै जँड्याहा बन्छु” भनेको छ? तपाईँ पिएर नालीमा लड्दा, बाटो हिँड्नेले “विचरा” भन्दैनन् नि दाइ, उल्टै “थुइक्क जँड्याहा” भन्छन्। के तपाईँको इज्जत त्यही नालीको हिलो बराबर मात्रै हो? अरूले “यसको बाउ त जँड्याहा हो” भनेको सुन्दा आँखाभरि आँसु लिएर शिर निहुरिएको तपाईँको बच्चाको अनुहार कहिल्यै हेर्नुभएको छ? कस्तो अचम्म है—तपाईँलाई रक्सी पिउन चाहिँ पैसा पुग्छ, तर श्रीमतीले तेल किन्न पैसा माग्दा हुँदैन तपाईँसँग। छोराछोरीको स्कुलको फिस तिर्न पर्दा “अलि गाह्रो छ” भन्नुहुन्छ।

शारदाकी आमाले किन मर्नुपर्‍यो, थाहा छ? तपाईँजस्तै रक्स्याहा श्रीमानको टर्चर खप्न नसकेर। एउटी आमाले आफ्नो काखको बच्चालाई छोडेर झुण्डिनु भनेको कति ठूलो विवशता होला? त्यो आत्महत्या थिएन दाइ, त्यो त रक्सीले गरेको हत्या थियो। रक्सी पिउने एउटा, तर त्यही यातनाको विष अर्कोले पिउनुपर्ने। तपाईँलाई लाग्दो हो—“मैले त पिएर कसैलाई कुटेको छैन, चुपचाप सुत्छु।” यस्तो बहाना Please नबनाउनुहोस् है। तपाईँको जिम्मेवारी चाहिँ कसले उठाइदिने दाइ? तपाईँको यो गैरजिम्मेवारीपनले तपाईँको परिवारलाई जुन मानसिक यातना दिन्छ नि, त्यो कुटपिटभन्दा हजार गुणा बढी विषालु हुन्छ।

एकछिन celebrity तथा तथाकथित idol भनिनेहरूको कुरा गरौँ है त। हातमा रक्सीको गिलास लिएर ‘Cheers’ भन्दै फोटो हाल्दा, TV programme हरूमा shot पिउँदा तपाईँलाई साँच्चै cool देखिन्छु जस्तो लाग्ला? तपाईँलाई लाग्ला—यो मेरो व्यक्तिगत कुरा हो, तर होइन। तपाईँलाई पछ्याउने, idol मान्ने हजारौँ युवाहरूले “फलानाले त पिउँदो रहेछ, यो त सामान्य रहेछ” भनेर सिक्छन्। कस्तो cool हो यो? जहाँ एउटी आमाले आफ्नो श्रीमानको टर्चर खप्न नसकेर आफ्नै सन्तानलाई टुहुरो बनाएर डोरीमा झुण्डिनुपर्छ? मानवता मार्ने विष हो रक्सी। त्यसैले नशालाई होइन, तपाईँहरू होसलाई Promote गर्नुहोस्, किनकि कुलको इज्जत फाल्ने र कुलै सखाप पार्ने रक्सी कहिल्यै cool हुन सक्दैन।

अन्ततः जड्याहा दाइ, सायद तपाईँकी श्रीमतीले आत्महत्या नगर्लिन्, सायद तपाईँका छोराछोरी सडकमा नआउलान्… तर के उनीहरू साँच्चै बाँचिरहेका छन् त? हो, “बाँचिरहेका छन्” भन्नुहुन्छ भने माफ गर्नुहोला—सास मात्र फेर्नुलाई बाँच्नु भनिँदैन नि दाइ। बाँच्नु र सास मात्र फेर्नु फरक कुरा हो। त्यो बुझ्नका लागि पहिले रक्सी छोड्नुहोला है।

शारदा जस्ता हजारौँ छोरीहरूको आँसु रोक्न—होस र विवेकको पक्षमा।

source : facebook

Author:



क्याटोगरी छान्‍नुहोस