सांसदको व्यवहारबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा केही सांसदले अमर्यादित तथा आपत्तिजनक व्यवहार प्रदर्शन गरेको घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा सङ्घीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना प्रमुख तथा प्रविधि महाशाखा प्रमुख सदस्य रहने गरी समिति गठन गरेका हुन्। समितिलाई घटनाबारे अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

बैठकमा जानकारी गराउँदै सभामुख घिमिरेले केही सांसदको गतिविधिका कारण संसद् भवनभित्र भौतिक क्षतिसमेत पुगेको बताए। घटनाको वास्तविकता पत्ता लगाई आवश्यक सुझाव दिन समिति गठन गरिएको उनको भनाइ थियो।

यसैबीच, प्रतिपक्षी दलले आइतबार पनि सदन अवरुद्ध गरेपछि सोमबारका लागि तय गरिएका कार्यसूची हटाइएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस