गोली लागेर घाइते देवानगन्जका युवकको उपचारका क्रममा निधन

सुनसरी । सुनसरीको देवानगन्जमा भएको हिंसात्मक घटनामा घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा निधन भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या थप बढेको छ।

देवानगन्ज गाउँपालिका–३ निवासी २१ वर्षीय रवीन्द्रकुमार मेहताको काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा मंगलबार उपचारकै क्रममा मृत्यु भएको हो।

मेहता घटनाका क्रममा गोली लागेर गम्भीर घाइते भएका थिए। उनको बायाँ तिघ्रामा गोली लाग्दा मुख्य नसामा गम्भीर क्षति पुगेको चिकित्सकहरूले बताएका थिए। प्रारम्भिक उपचारका लागि उनलाई विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो, जहाँ नसाको शल्यक्रिया गरिएको थियो। तर स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआएपछि गत शुक्रबार एयर एम्बुलेन्समार्फत थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो।

उपचारका सबै प्रयासका बाबजुद उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मंगलबार निधन भएको मृतकका आफन्त रोशन मेहताले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) पुष्पराज मल्लले पनि मेहताको उपचारका क्रममा मृत्यु भएको पुष्टि गर्दै काठमाडौंबाट त्यससम्बन्धी जानकारी प्राप्त भएको बताए।

देवानगन्जमा भएको तनावका क्रममा घाइते भएका मेहताको निधनसँगै उक्त घटनाले थप गम्भीर रूप लिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस