राजविराज, १३ पौष । प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली कांग्रेसले सप्तरीसहित देशैभरिका १ सय ६५ निर्वाचन क्षेत्रमा सोमवार वृहत प्रदर्शन गरेका छन् ।
पार्टीको केन्द्रीय सर्कुलर अनुसार देशैभरी विरोध प्रदर्शन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसले त्यस विरुद्ध आन्दोलन गर्दैआएको छ ।
राजविराज स्थित शिव मन्दिर प्राङ्गणबाट निकालिएको विरोध र्याली नगरको विभिन्न भाग परिक्रमा गरेको छ । आन्दोलनकारीहरुले संसद पुनरस्थापनको मागसहित प्रधानमन्त्री केपी ओली विरुद्ध चर्को नाराबाजी गरेका छन् । नगर परिक्रमा पश्चात शहिद दशन चौकमा आयोजित विरोध सभामा पार्टीका नेताहरुले सम्बोधन गर्ने क्रम जारी रहेको छ ।
प्राप्त जानकारी अनुसार सप्तरीको संसदीय निर्वाचन क्षेत्र नम्वर १ को भारदहमा पार्टीका केन्द्रीय नेता एवम् पूर्व गृह राज्यमन्त्री रामकुमार चौधरी, संसदीय निर्वाचन क्षेत्र नम्वर २ को राजविराजमा पार्टीका नेता राधाकृष्ण देव, संसदीय निर्वाचन क्षेत्र नम्वर ३ को रुपनीमा पार्टीका सभापति दिनेश कुमार यादव र संसदीय निर्वाचन क्षेत्र नम्वर ४ मा मधुवनी धातीमा विघटित प्रतिनिधि सभाका सदस्य तेजुलाल चौधरीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उक्त स्थानहरुमा आयोजित विरोध सभामा कांग्रेसका कार्यकर्ता तथा जनसमुदाय समेतको सहभागिता रहेको छ ।