चुनौतीका बीच जनताको मन जित्दै वडा अध्यक्ष दिपेन्द्र

राजविराज, १३ पौष । यतिबेला भ्रष्टाचार र बेथितिका कारण सप्तरीको छिन्नमस्ता गाउँपालिका चौतर्फी रुपमा बदनामीको चर्चा पाएको छ । गाउँपालिकाका अध्यक्षदेखि वडासम्मका जनप्रतिनिधिहरुमाथि आरोपै आरोपको चाङ्ग छ । तर हिलोमै कमल फूल्छन् भने भनाई चरितार्थ गरेका छन् सोही गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष दिपेन्द्र कुमार यादवले ।

स्वतन्त्र उम्मेदवार भई वडा अध्यक्षमा निर्वाचित भएका उनले वडाका वासिन्दाहरुकालागि मालपोत बाहेकका सम्पूर्ण कर निःशुल्क गर्नुका साथै भत्ता सुविधा समेत नलिई जनताको सेवामा समर्पित रहँदैआएका छन् । आफु सरकारी जागिरमा नगई आफ्नो गाउँठाउँको विकास गरी जनताको सेवा गर्न आएको बताउँदै उनी भन्छन् ‘पैसा कमाउने ईच्छा भएको भए सरकारी जागिरमा जान्थेँ, तर गईनँ, वडा कार्यालयबाट कुनै पनि जनतालाई सेवा लिएवापतको शुल्क तिर्नु परेको छैन ।’

वर्षभरिमा आफुले अतिथि सत्कार, सरसफाई समेत गरी गत वर्षमा कुल ९३ हजार रुपैयाँ २० पैसा मात्र भुक्तानी लिएको जानकारी दिएका छन् । गाउँपालिका भ्रष्टाचारको अखाडा भएको स्वीकार गर्दै वडा अध्यक्ष दिपेन्द्र भन्छन् ‘वडालाई नमूना बनाउने उद्देश्यकासाथ काम गर्न आएँ, भ्याएसम्म मैले इमानदारीकासाथ काम गर्दैछु ।’

कार्यालयमा प्राविधिक सहायक सिताराम राय कार्यरत छन् भने कार्यालय सहयोगीमा स्नातक पढेका अरबिन्द मुखियालाई राखेकोले दैनिक कामकाज अत्यन्तै सहज रुपमा भईरहेको उनको भनाइ छ ।गणित विषयमा एम.एड.उतीर्ण गरेका उनी वडा अध्यक्षमा निर्वाचित हुनु अघि वडाको अधिकांश वस्तीहरु अँध्यारो थियो ।

अहिले धोबियाही, मुसहरी, गोबिन्दपुरको सदा टोल, राम टोल, मनसुखी सहितका टोलहरुमा विद्युतीकरण भएपछि उज्यालोले झलमल्ल भएको छ । यस अतिरिक्त उनले चार किलोमिटर आरसीसी ढलान, गोबिन्दपुरमा १०० केभीको ट्रान्सफर्मर, सखडामा ५० केभीको ट्रान्सफर्मर जडान, भूपेन्द्र संस्कृत माध्यमिक विद्यालयमा ११ र १२ कक्षा सञ्चालन, प्राविधिक शिक्षाधारतर्फ सब ईन्जिनियरको कक्षा सञ्चालन, विद्यालयमा सीसी क्यामरा जडान तथा ई हाजिरी जडान गरेका छन् ।

यसैगरी सखडामा बर्थिङ्ग सेन्टर सुचारु, बाटो ढलान, विपन्न वस्तीहरुमा ट्युवेल जडान, सिंचाईकालागि किसानको खेतमा ६६ ओटा पोल जडान, सामाजिक सुरक्षा भत्ता व्यवस्थित रुपमा वितरण, वडामै एक हजार एक सय जनालाई नागरिकता दिलाउनु, जग्गा अतिक्रमण मुक्त गराउनु, सरसफाईसहितका कामहरु सफलतापूर्वक सम्पन्न गरेका छन् ।

स्वास्थ्य सेवाको पहुँच बढाउन आफुले तत्कालिन उप प्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवको कार्यकालमा एम्बुलेन्स समेत ल्याउन सफल भएको उनी बताउँछन् । माटो तथा ग्राभेल कार्यको नाममा रकम दुरुपयोग हुने सम्भावना रहेकोले त्यस्ता कामलाई आफुले पूर्ण रुपमा निःषेध गरी ठोस र उपलब्धीमूलक कार्यमा लगानी गरेको उनको दावी छ ।

थरिथरिका चुनौतिहरुलाई सामना गर्दै आफु अगाडि बढिरहेको बताउँदै उनी भन्छन् ‘गाउँपालिका नै भ्रष्टाचारमा चुर्लुम्म डुबेको अवस्था तथा साउनयता कार्यकारी अधिकृत हाजिर नभएको अवस्था छ, विकासको कुरा गर्नुहुन्छ भने गाउँपालिकामा कागजी विकास मात्रै भएको छ, राम्रालाई प्रोत्साहन तथा भ्रष्टाचार गर्नेलाई दण्डित गर्ने निकाय नै देशमा भएन ।’

बाह्र वर्षसम्म राजविराज स्थित मिलन डेरी उद्योगमा काम गरेका उनले सखडा गाउँमै हाल आशा डेरी उद्योग सञ्चालन गर्दैआएका छन् । आफ्नै मेहनतबाट सहज रुपमा घरपरिवार चलाउन सकिने अवस्था रहेकोले वडा अध्यक्षले पाउने भत्ता सुविधा हालसम्म नलिएको उनी बताउँछन् ।

गाउँपालिकाबाट विभिन्न अनुगमनहरुमा गए वापत ५४ हजार रुपैयाँ लिएकोमा त्यो पनि बेरुजु देखाएकोले त्यो पनि फिर्ता गर्न लागेको उनले जानकारी दिएका छन् । एकतीस वर्षिय वडा अध्यक्ष दिपुले गाउँमै सञ्चालन गरेको डेरी उद्योगबाट गरिब, दलित एवम् विपन्न परिवारमा छोरीको विवाहमा ५० किलो दही निःशुल्क उपलब्ध गराउने गर्छन् । यस अतिरिक्त छोरीको विवाहमा मडबा बनाउन एक ट्रयाक्टर माटो, मडबा बनाउन श्रमिक खर्च पाँच सय रुपैयाँ उपलब्ध गराउनुकासाथै भ्याएसम्म आफै समेत उपस्थित हुने गर्छन् ।

सिमित अधिकार र बजेट अभावले जनताको चाहना अनुसार अझैं धेरै काम गर्न बाँकी रहेको जानकारी दिँदै उनी थप्छन् ‘राजनीतिमा शिक्षित एवम् निस्वार्थ भावले सेवा गर्न आँट राख्ने युवाहरुले मौका नपाएसम्म समग्र विकास सम्भव छैन ।’ गाउँपालिकालाई देशकै नमूना बनाउने सोचका साथ आफुले पालिका अध्यक्ष बन्ने सोच राखेको र जनताको साथ पाए परिवर्तन गरेर देखाउने उनको सङ्कल्प छ ।

Author:



क्याटोगरी छान्‍नुहोस