उच्च अदालतका अर्का न्यायाधीशमा पनि कोरोना पुष्टि

जनकपुरधाम, १६ साउन । प्रदेश २ का अर्का एक न्यायाधीशमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

उच्च अदालत जनकपुरधामका एक जना न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको अदालतले जनाएको छ । गत मंगलवार (साउन १३ गते) उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरिएको थियो । सोही स्वाबमध्ये एक जनामा संक्रमण देखिएको हो ।

न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएपछि बन्दाबन्दी (लकडाउन) को अवधीमा गरिँदै आएका निश्चित कामकारवाहीबाहेक अन्य काम साउन १६ गतेदेखि ३१ गतेसम्म स्थगित गर्ने उच्च अदालतले निर्णय गरेको छ ।

उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एशोसिएसनसँग छलफल गरी यस्तो निर्णय गरिएको जनाइएको छ ।

यसअघि उच्च अदालत जनकपुर, राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस