मास्क नलगाई हिलडुल गर्ने ३४ जनालाई नियन्त्रणमा लिइयो

राजविराज, १३ साउन । कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम कार्यमा कटिवद्ध भएर लागेका सप्तरी प्रशासनले सार्वजनिक स्थलमा मास्क नलगाई हिलडुल गर्नेलाई कारवाही गर्न थालेको छ ।

मंगलवार मात्रै मास्क नलगाई सार्वजनिक स्थलमा हिलडुल गरिरहेका ३४ जनालाई नियन्त्रण लिइएको हो । उनीहरुलाई सदरमुकाम राजविराजस्थित गजेन्द्र चौक, शहिद चौक, रुपनी मोड लगायतका स्थानहरुबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीबाट संक्रमण नियन्त्रणका निम्ति गत आइतवार (साउन ११ गते) सुचना जारी गरी अनिवार्य रुपमा मास्क प्रयोग गर्न भनिएको थियो । सुचनामा मास्क नलगाउनेलाई कारवाही गर्ने चेतावनी समेत दिएको थियो ।

सोहीअनुसार गत आइतवार र सोमवार (११ र १२ गते) मास्क नलगाई सार्वजनिक स्थलमा हिलडुल गर्नेलाई सचेत गराइएको थियो । तर, प्रशासनको निर्णयलाई वेवास्ता गरिएको पाइएपछि कारवाही थालिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

के कारवाही हुन्छ?

जिल्ला प्रशासन कार्यालय सप्तरीले गत आइतवार जारी गरेको सुचनाअनुसार कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन सतर्कताका उपायहरु अपनाउनु जरुरी छ ।

सोहीअनुसार कुनै पनि सार्वजनिक स्थल, कार्यालय तथा पसल वा हाट बजारमा जाँदा वा सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्दा सवैले अनिवार्य मास्कको प्रयोग, सेनिटाइजर प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात धुने गर्नुपर्दछ । अटेर गर्नेहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम कडा कार्वाही गरिने सुचनामा उल्लेख छ ।

सुचना हेर्नुहोसः

Author:



क्याटोगरी छान्‍नुहोस