कोरोनाले मलेसियामा अलपत्र परेकाहरुलाई स्वदेश ल्याइने [यस्तो छ प्रक्रिया]

जनकपुरधाम। सरकारले कोरोना भाइरस (कोभिड–२९) कारण मलेसियामा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउने तयारी गरेको छ । रोजगारी, व्यवसाय र अध्ययनकासाथै अन्य प्रयोगजनमा मलेसिया रहिरहेका तथा कोरोनाका कारण अलपत्र परेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउने तयारी गरेको हो ।

कोरोनाका कारण रोजगारी, व्यवसाय तथा आम्दानी गुमाएर अलपत्र परेका नागरिकलाई प्राथमिकता दिएर स्वदेश ल्याउनका लागि विदेशस्थित विभिन्न दूतावास र नियोगमार्फत त्यहाँ रहेका नेपालीहरुका लागि जहाजको व्यवस्था गरी स्वदेश फिर्ता ल्याउन लागिएको जनाएको छ ।

जसअनुसार मलेसियास्थित नेपाली दूतावासले मलेसियामा अलपत्र परेका नेपालीहरुकालागि १० वटा उडानको व्यवस्था गरेको छ । स्वदेश फर्काउनका लागि हिमालय एयरलाइन्स र मालिन्दो एयरको चार्टर्ड उडानको व्यवस्था गरिएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार ३ अगस्ट (साउन १९ गते)देखि एक साताकालागि हिमालयन र मालिन्दोका उडानहरु चार्टर्ड गरिएको हो ।

यस्तो छ प्रक्रिया
दूतावासले चार्टर्ड उडानमा नेपाल फर्किने यात्रुहरुलाई पालना गर्नुपर्ने नियम पनि तोकिएको छ । जसअनुसार सर्वप्रथम मलेसियास्थित नेपाली दूतावासले भनेको अनलाइन फर्म भर्नुपर्ने हुन्छ । सो पश्चात उडान हुन गइरहेको एयरलाइन्समा सम्पर्क गरी टिकट बुकिङ गर्नुपर्ने छ ।

यसैगरी, रोजगार भिषामा भएका व्यक्तिले मलेसियाको अध्यागमन विभागबाट ‘चेक आउट मेमो’ लिनुपर्ने छ । यसको प्रवन्ध रोजगारदाताले गर्ने दूतावासले जनाएको छ । अन्तिममा नेपाल पुग्ने दिने सात दिन भित्र पर्ने गरी कोरोना भाइरस (कोभिड १९)को परीक्षण गर्ने र कोभिड नभएको रिपोर्ट लिनुपर्ने नियम तोकिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस