कोरोनाबाट जोगिन थप सतर्कता अपनाउन नगर प्रमुख यादवको अपिल

बोदे बरसाईन । सप्तरीको बोदे बरसाईन नगरपालिकाका नगर प्रमुख आतेशकुमार सिंह यादवले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिनकालागि थप सतर्कता अपनाउन सर्वसाधारणहरुमा अपिल गरेका छन ।

उनले संक्रमणबाट आफु बच्ने र अरुलाई बचाउनकालागि थप सतर्कता र सचेत भएर बस्न अपिल गरेका हुन् । ‘आफु र आफ्ना परिवारकासाथै समाजमा संक्रमण फैलिनबाट जोगाउनु नै अहिलेको प्रमुख प्राथमिकता हो, जसकालागि सर्वसाधारणलाई थप सतर्कता अपनाउनु आवश्यक छ’ उनले भने–‘तपाईहरुकै सहयोग र साथले हामी संक्रमणलाई नियन्त्रण गर्न सक्छौं पनि ।’

उनले अहिले जिल्लाकासाथै प्रदेशका केही स्थानहरुमा तीव्र रुपले भाइरसको संक्रमण बढ्दो रहेको तथा संक्रमण नियन्त्रण कार्यमै सवै निकाय लागेकाले सर्वसाधारणलाई पनि आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए । ‘अति आवश्यक काम बाहेक घरमै बस्नुस्, बाहिर निस्किनै परेको खण्डमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नेगर्नुस्’ उनले भने–‘औषधीसहितका आवश्यक वस्तु खरिद गर्ने ठाउँमा पनि भिडभाड नगरी सामाजिक दुरी कायम गरेर मात्रै खरिद गर्नेगर्नुस ।’

साथै कोरोना संक्रमणबाट बच्न पटक पटक सावुन पानीले हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न नगर प्रमुख यादवले आग्रह गरे ।

निःशुल्क मास्क वितरण

नगरपालिकाले सोमवारदेखि पुनः निःशुल्क मास्क वितरण कार्य थालेको छ । सोही कार्यक्रमअनुसार सोमवार मात्रै करिब ५ सय मास्क वितरण गरिएको नगर प्रमुख यादवले जानकारी दिए ।

नगर प्रमुख यादवका अनुसार मास्क वितरण कार्यमा स्थानीय संस्था युवा कर्मचारी समाज बोदे बरसाईनले सघाइरहेका छ । मास्क वितरण कार्यक्रममा बोदे बरसाईन नगर व्यापार समितिका सचिव अनिल प्रसाद सिंह, सशस्त्र वेश क्याम्प बोदे बरसाईनका प्रमुख हिमाल केसी, ईलाका प्रहरी कार्यालय बोदे बरसाईनका सहायक प्रमुख राज कुमार दास, युवा कर्मचारी समाज बोदे बरसाईनका अध्यक्ष ई.शंकर कुमार यादव लगायतको सहभागीता थियो ।

 

 

Author:



क्याटोगरी छान्‍नुहोस