कोरोनाको ‘हटस्पट’ बन्दै राजविराज, एउटै वडामा ५ जना संक्रमित थपिए

राजविराज । राजविराज नगरपालिकामा ५ सहित सप्तरीमा शनिवार ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै सप्तरीमा संक्रमितको संख्या ७२० पुगेको छ । जसमा राजविराजमा मात्रै २०६ जनामा संक्रमित भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

कार्यालयका प्रमुख दुनीयालाल यादवका अनुसार शनिवार राजविराज नगरपालिका वडा नम्वर ७ का ५ जना, वलान विहुल गाउँपालिका नम्वर १ र ६ का १–१ जना तथा सप्तकोशी नगरपालिका वडा नम्वर १ की एक जनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरु राजविराजस्थित गजेन्द्रनारायाण सिंह अस्पतालको प्रयोगशालाबाट आएको रिपोर्टमा पोजेटिभ देखिएको प्रमुख यादवले जानकारी दिए ।

एकैदिन १२ जना डिस्चार्ज

सप्तरीको १८ वटै स्थानीय तहमा संक्रमण फैलिएको छ । संक्रमितहरु आइसोलेसन तथा होम आइसोलेसनमा राखि उपचार भइरहेको छ । जसमध्ये शनिवार १२ जनालाई डिस्चार्ज गरिएको प्रमुख यादवले बताए।

कोरोनामुक्त भएका १२ जनासहित हालसम्म ४९२ जनालाई डिस्चार्ज गरिएको उनले जानकारी दिए । प्रमुखका अनुसार साईकृष्णा मेडिकल कलेज राजविराजको आइसोलेसनमा ११२ जना, तिलाठी कोइलाडी गाउँपालिकाको आइसोलेसनमा २४ जना, होम आइसोलेसनमा २२ जना र प्रहरी तालिम केन्द्रको आइसोलेसनमा २२ जना संक्रमितलाई राखिएको छ ।

हालसम्म ४ जनाको मृत्यु

कोरोना संक्रमणबाट हालसम्म सप्तरीमा ४ जनाको मृत्यु भइसकेको छ ।

गत साउन १ गते राजविराज नगरपालिका वडा नम्वर ४ का ७३ वर्षीय पुरुष, साउन २१ गते रुपनी गाउँपालिका वडा नम्वर ५ का ४२ वर्षीय पुरुष, साउन २७ गते डाक्नेश्वरी नगरपालिका वडा नम्वर ८ का ७२ वर्षीय पुरुष र भदौ २ गते राजविराज नगरपालिका–४ कै २८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस