सप्तरी कारागारभित्र पनि पस्यो कोरोना, कैदीबन्दीमा त्रास

राजविराज । सप्तरी कारागारका कैदीबन्दीमा पनि कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रवार कारागारका ६ जना कैदीबन्दी र २ जना प्रहरीमा संक्रमण पुष्टि भएको कारागारका निमित्त जेलर संजयकुमार रामले जानकारी दिए ।

केही कैदीबन्दीमा ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि पिसीआर गराउँदा शुक्रवार आएको रिपोर्टबाट उनीहरुमा संक्रमण देखिएको उनले बताए । संक्रमितहरु ३० देखि ६० वर्ष उमेर समूहका छन् । सवै पुरुष हुन् ।

संक्रमितहरुलाई कारागारभित्रै अलगै कोठामा सार्ने तयारी भइरहेको निमित्त जेलर रामले बताए । यता, स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले कैदीबन्दीमा संक्रमण देखिएपछि उनीहरुको छुट्टै व्यवस्थापन गर्न भनिएको बताए । ‘संक्रमितहरुलाई अलगै व्यवस्थापन राख्न भनिसकेका छौं, र अन्य कैदीबन्दीको पनि स्वाब संकलन गर्नुपर्ने जरुरी देखिन्छ’ उनले भने–‘अन्यको स्वाब संकलन गर्ने तयारी भइरहेको छ ।’

अन्य कैदीबन्दीमा त्रास

कैदीबन्दीमा कोरोना संक्रमण देखिएपछि अन्य कैदीबन्दी पनि त्रसित भएका छन् । श्रोतका अनुसार कारागारको अवस्था अस्तव्यस्त रहेकाले अन्य कैदीबन्दीमा पनि सजिलै संक्रमण फैलिनसक्ने सम्भावना रहेको छ ।

१ सय २५ जनाको क्षमताको रहेको कारागारमा हाल ३ सय ३३ जना कैदीबन्दी राखिएकाले कारागारको अवस्था अस्तव्यस्त हुन पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस