निजामती कर्मचारीसँग प्रधानमन्त्री ओलीको आग्रह-‘देश विकास एवं जनताका सेवामा समर्पित भइदिनुस्’

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीलाई देश विकास एवं जनताका सेवामा समर्पित हुन आग्रह गरेका छन् । निजामती सेवा दिवसका अवसरमा सोमवार शुभकामना सन्देश दिँदै उनले राष्ट्रसेवकलाई स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ आफ्नो दक्षता अभिवृद्धि गर्दै देश विकास एवं जनताका सेवामा समर्पित हुन आग्रह गरेका हुन् ।

२०१३ सालमा तत्कालीन टंकप्रसाद आचार्यको सरकारले नेपालमा पहिलो पल्ट आजकै दिन निजामती सेवा ऐन ल्याएको थियो । उनले कर्मचारीलाई राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनसमेत अपिल गरे । सन्देशमा उनले कर्मचारीमा उच्च नैतिक आचरण र पेशागत निष्ठामार्फत जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्नेसमेत कामना गरेका छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९को परिस्थितिलाई सामना गर्ने सिलसिलामा जीवन जोखिममा राखी अग्रभागमा खटिएका राष्ट्रसेवकप्रति पनि प्रधानमन्त्रीले सम्मानसमेत प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरूको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य रहेको सन्देशमा उल्लेख गरेका छन् ।

‘तानाशाही शासनविरुद्धको संघर्ष, त्यस संघर्षमा खेप्नुपरेको पीडा र गर्नुपरेको बलिदान एवं आफ्ना पेशागत हकहितका लागि गरेका संघर्ष सकारात्मक र प्रशंसायोग्य नै छन्’, उनले सन्देशमा भनेका छन्, ‘तपाईंहरूले सहभागिता जनाएका र योगदान पुर्याएका आन्दोलनहरू सफल भएका छन् र तपाईंहरूका माग पनि पूरा भएका छन् ।’

नेपालका विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले लोकतान्त्रिक शासन व्यवस्थामा कर्मचारीको भूमिका र जिम्मेवारी अझै गहन र व्यापक भएको सन्देशमा बताएका छन् । लोकतन्त्रका लाभको वितरण नागरिकसम्म पुर्याई जनताको सेवा गर्न तथा राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

Author:



क्याटोगरी छान्‍नुहोस