सदस्यता नविकरण मंसिरमित्र गरिसक्ने नेकपाको निर्णय

जनकपुरधाम । पार्टी सदस्यहरुको सदस्यता नविकरण मंसिर महिनाभित्र गरिसक्ने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्णय भएको छ । आइतबार संगठन विभागको बैठक बसेर सदस्यता नविकरणबारे यस्तो निर्णय गरेको हो । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाका ८ लाख सदस्य रहेको बताइएको छ ।

यद्यपि सदस्यहरुको अभिलेख चुस्त दुरुस्त नभएकाले नेकपालाई सदस्यतासम्बन्धी विषय टुंग्याउन सकस पर्ने देखिएको छ । बैठकले आगामी मंसिरभित्र सदस्यता नविकरण र नयाँ सदस्यबारे सबै काम सक्नेगरी काम गर्ने निर्णय गरेको संगठन विभाग उपप्रमुख जनार्दन शर्माले जानकारी दिए ।

यसअघि शुक्रबार सम्पन्न स्थायी समिति बैठकले आगामी कात्तिक १५ देखि १७ गतेसम्म चैतमा हुने महाधिवेशनको तयारीका लागि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । नेकपाको एकता महाधिवेशन आगामी चैत २५ देखि ३० सम्म काठमाडौमा गर्ने निर्णय गत माघमा सम्पन्न केन्द्रीय समिति बैठकले गरेको थियो ।

त्यसका लागि नेकपाले आगामी असोज महिनाभित्र एकताका सबै काम सम्पन्न गर्ने पनि निर्णय गरिसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस