नेपाली रेल भारतले उपहार दिएको हो?

२०७७ असोज ०४ गते
जनकपुरधाम । नेपाली रेलको विषयमा भारतका रेलवेमन्त्री पियुष गोयलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको प्रतिक्रियामाथि टिकाटिप्पणी सुरु भएको छ । उनको प्रतिक्रियाले नेपाललाई रेल उपहार दिएको जस्तो वुझिएपछि टिकाटिप्पणी सुरु भएको हो ।

उनले लेखेका छन्, ‘नेपालसँग हाम्रो प्राचीन सांस्कृतिक र सौहाद्र्रपूर्ण सम्बन्ध रहेको छ । हाम्रो यही सम्वन्धलाई नयाँ आयाम दिँदै रेलवेले नेपाललाई ‘२ डेमु’ ट्रेनसेट दिइयो ।’

नेपालको राष्ट्रिय झण्डामा भएको रंगले पोतिएको नेपाली रेल शुक्रवार दिउँसो जनकपुरधाम आएको हो । सोही प्रतिक्रियाको सन्दर्भमा नेपाल रेलवेका महानिर्देशक गुरुप्रसाद भट्टराईले किनेको रेल दिएको भन्नु भारतको हेपाहा प्रवृत्तिका कारण यस्ता अभिव्यक्ति आउने गरेको बताएका छन् ।

‘नेपालले रेल किनेको सबैलाई थाहा छदैँछ। हिजो कम्पनीले पनि रेल खरिदका लागि यस्तो प्रक्रिया, यति मूल्य सबै मिडियाका अगाडि बताएको थियो । तर, भारतको रेलवे मन्त्रीको अभिव्यक्तिले नेपाललाई रेल उपहार दिएको बुझाउँछ । यो उनीहरुको हेपाहा प्रवृति हो,’ उनल भने ।

उनले भारतमा अझै पनि हामीले गर्दा भएको भन्ने भ्रम रहेको बताए । ‘हामीले गरीदिएका हौं भन्ने अझै भ्रम छ,’ उनले भने, ‘हामीले सरकार टु सरकार (जीटूजी) मार्फत सम्झौता गरेको घाम जस्तै छ । तर पनि यस्ता अभिव्यक्ति आउनु भनेको उनीहरुको हेपाहा प्रवृति हो ।’

महानिर्देशक भट्टराईका अनुसार २ वटा रेलको मूल्य १ अर्ब ३ करोड पुग्न आउँछ । अहिले भन्सार र केही प्रक्रिया बाँकी नै रहेका बेला करिव ८५ करोड मूल्य परेको उनले जानकारी दिए । उनलेभ भने, ‘२ वटा रेलको मिलाएर जम्मा १ अर्ब ३ करोड मूल्य पर्न आउँछ। अहिले भन्सार लगायतका केही प्रक्रिया बाँकी रहेकाबेला पनि करिव ८५ करोड मूल्य २ वटा रेलको पर्न आएको छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस