कोरोना भाइरसः सप्तरीका थप एकको मृत्यु, मृतकको संख्या १४ पुग्यो

२०७७ असोज १०
राजविराज । सप्तरीका थप एक कोरोना संक्रमितको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेको राजविराज नगरपालिका–४ का ६० वर्षीय पुरुषको आज विहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

ज्वरो, खोकी र श्वासप्रस्वाशमा समस्या भएपछि विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएका उनको स्वास्थ्य अवस्था जटिल भएपछि धरान रिफर गरिएको थियो ।

धरानमै गत विहिवार गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठान मातहतकै कोभिड अस्पतालमा सारिएको थियो ।

उच्च रक्तचाप र मुटुको पनि रोगी रहेको उनको उपचारकै क्रममा विहान २ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए । योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

हालसम्म सप्तरीमा १२ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ८९३ जना निको भएर घर फर्किएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस