रौतहटमा एक दम्पतिमाथि खुकुरी प्रहार, खुकुरी लागेर जगरामीदेवीको मृत्यु

२०७७ असोज १०
रौतहट । रौतहटको देवाही नगरपालिका वडा नम्वर ५ टिकुलीका एक दम्पतिमाथि खुकुरी प्रहार भएको छ । खुकुरी लागेर महेश तिवारीकी पत्नी जगरामी देवीको मृत्यु भएको छ भने महेश घाइते भएका छन् ।

शुक्रबार साँझ ८ बजेतिर घर नजिकै गफ गरेर बसिरहेको अवस्थामा खुकुरी र खुँडा बोकेर आएका व्यक्तिको समूहले महेश तिवारीलाई ज्यान मार्ने धम्की दिएको थियो । ज्यान मार्ने धम्की दिएपछि महेशले तत्काल ईलाका प्रहरी कार्यालय देवाही गोनाहीमा जानकारी गराएका थिए । तर, प्रहरीले उनको सूचनाप्रति विश्वास गरेन ।

धम्की दिएको आधा घण्टापछि पुनः फर्किएर आएको उक्त समूहले महेशमाथि खुकुरी र खुँडा प्रहार गर्न खोज्यो । पतिलाई जोजाउनका लागि आक्रमणकारीविरुद्ध उत्रिएकी महेशकी पत्नीको धारिलो हतियार लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रमण घाइते भएका महेशको वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले हत्यामा संलग्न मध्येका स्थानीय बलि मुखियालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार शुक्रबार साँझ स्थानीय प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखियासहित ४ जना मिलेर महेशमाथि आक्रमण गरेका थिए ।

स्थानीयका अनुसार गत असारमा स्थानीय दुवे र मुखिया परिवारबीच बाटोको निकास निकाल्ने विषयमा विवाद भएको थियो । बाटो निकासको विषय सुल्झन नसकेर अदालतसम्म पुगेको थियो । अदालतमा मुद्दा दर्ता हुँदा दुवे परिवारको तर्फबाट महेश तिवारी साक्षी बसेका थिए ।

मुद्दामा साक्षी बसेको विषयलाई लिएर मुखिया परिवारले महेशलाई पटक–पटक धम्की समेत दिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धीविक्रम शाशले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस