सप्तरीका जनप्रतिनीधिहरुद्वारा बलान नदीबारे मुख्यमन्त्री र मन्त्रीको ध्यानाकर्षण

राजविराज, १३ असोज । सप्तरीको बलान बिहुल गाउँपालिका स्थित बलान नदीले वर्षेनी गरिरहेको नदी कटान नियन्त्रणकालागि सप्तरीका जनप्रतिनीधिहरुको टोलीले प्रदेश २ का मुख्यमन्त्री र विभागीय मन्त्रीको मङ्गलवार ध्यानाकर्षण गराएका छन् ।

जनता समाजवादी पार्टीका नेता एवम् पूर्व शिक्षा मन्त्री सांसद रेणु कुमारी यादव, प्रदेश सभा सदस्य अभिशेक यादव, बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइत, पार्टीका नेताहरु अशोक कुमार यादव, भीमराज यादवसहितको प्रतिनीधिमूलक टोलीले मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनललाई ध्यानाकर्षण गराएका हुन् । प्रदेश सांसद यादव र गाउँपालिका अध्यक्ष गोइतले ध्यानाकर्षण पत्र मुख्यमन्त्री राउत र मन्त्री सोनललाई बुझाएका थिए ।

मुख्यमन्त्री राउतले बलान नदी नियन्त्रण एवम् दिर्घकालिन व्यवस्थापनकालागि आफु गम्भीर रहेको भन्दै आवश्यक बजेट प्रबन्ध मिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । जनप्रतिनीधिहरुको टोलीको आग्रहमा बलान नदीको प्राविधिक अध्ययन र व्यवस्थापनकालागि प्राविधिक टोलीसहित मन्त्री सोनल विहीबार बलान बिहुल गाउँपालिका आउने कार्यक्रम तय भएको प्रदेश सांसद यादवले जानकारी दिएका छन् ।

यसअघि नेकपाका नेता एवम् पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवले समेत बलानसहित नदीहरुको दिर्घकालिन व्यवस्था तथा निर्माण कार्यहरुबारे मन्त्री सोनलको ध्यानाकर्षण गराएका थिए । बलान नदीले गाउँपालिकाको वडा नम्वर १ देखि ४ सम्म खेतीयोग्य जग्गा कटान गर्नुकासाथै बेल्ही बस्तीमा समेत पानी पस्ने गर्दछ ।

Author:



क्याटोगरी छान्‍नुहोस