राजविराज, १५ असोज । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश अन्तर्गत पर्ने बलान लगायतका नदीहरुको दिगो समाधानकालागि प्रदेश सरकारले तत्काल ठोस कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सप्तरीको बलान बिहुल गाउँपालिका स्थित बलान नदीको विहीबार स्थलगत निरीक्षण गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । नदीले गरेको कटान, बस्ती बगाउने जोखिमको अवस्था निरीक्षण तथा सर्वसाधारणका समस्या सुन्नमै दिनभरी व्यस्त रहेका मन्त्री सोनलले वर्षौदेखि खेतीयोग्य जग्गा कटान तथा बस्तीको जोखिमपूर्ण अवस्था अत्यन्तै गम्भीर बताउँदै भने ‘प्रदेश सरकारसँग सिमित श्रोत साधन रहे पनि कटान नियन्त्रण गर्नुकासाथै जनताको जीवनजीविकाको समस्यालाई समाधान गर्नेछौं ।’
संघ सरकारले प्रदेश अन्तर्गतका बलान लगायतका नदीहरु नियन्त्रण गर्न बेवास्ता गरेको गुनासो गर्दै बलान नदी नियन्त्रणकालागि तत्काल लागत ईष्टिमेट तयार गरी काम अगाडि बढाउने बताए ।
आवश्यक बजेट प्रदेश सरकारले तथा थप बजेटकालागि दातृ निकायकासाथै संघ सरकारसँग समेत आग्रह गरिने बताउँदै उनले भने ‘बलान नदीले पुर्याएको क्षति र सम्भावित जोखिमको अवस्था हृदयविदारक छ, त्यसैले जतिसक्दो चाँडो यो समस्या समाधान गर्न हामी अगाडि बढ्नेछौ ।’
यसैगरी अपन बेल्ही युवा क्लवका युवाहरुले समस्या समाधान गर्न मन्त्री सोनलको ध्यानाकर्षण गराएका छन् ।
मन्त्रीको निरीक्षण एवम् सम्बोधन कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय नेता एवम् पूर्वमन्त्रीद्वय रेणु कुमारी यादव, मृगेन्द्र कुमार सिंह यादव, प्रदेश सांसद अभिशेक यादव, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, गाउँपालिका अध्यक्ष दयानन्द गोइत, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, पार्टीका केन्द्रिय नेताहरु, विभागीय कार्यालयका प्रमुखहरु समेतको उपस्थिति थियो ।
विहीबारै मन्त्री सोनलले बलान बिहुल गाउँपालिका कार्यालय परिसरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई समेत सम्बोधन गरेका छन् ।
बलान नदीले गाउँपालिकाको वडा नम्वर १ देखि ४ सम्म खेतीयोग्य जग्गा कटान गर्नुकासाथै बेल्ही बस्तीमा समेत पानी पस्ने गर्दछ ।