नयाँ मन्त्रीमण्डलमा सप्तरीबाट नेता प्याकुरेलको नाम चर्चामा

राजविराज, १६ असोज । प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्री मण्डल हेरफेर हुँदा सप्तरी निवासी राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल मन्त्री बन्ने चर्चा पाएको छ ।

विद्यार्थी जिवनकालदेखि नै बामपन्थी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएका उनको नाम नयाँ मन्त्री पाउनेको सूचीमा रहेको श्रोतले जनाएको छ । सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर राजनीति गर्दैआएका नेकपा नेता प्याकुरेलले विभिन्न राजनीतिक परिवर्तनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । नेकपा एमाले हुँदै हालको नेकपामा समेत पार्टीप्रति इमानदार एवम् कर्तव्यनिष्ठ नेताको रुपमा चिनिन्छन् ।

प्रधानमन्त्री ओली निकट मानिएका नेता प्याकुरेलको राष्ट्रियसभामा १६ महिना मात्र कार्यअवधी बाँकी छ । प्रष्ट वक्ता एवम् खरो स्वभाव र सामान्य जिवनशैलीका उनको नाम अब बन्ने मन्त्रीमण्डलमा थपिने सम्भावित मन्त्रीहरुको सूचीमा अग्रपंक्तिमा रहेको पार्टीको विशेष श्रोतले जनाएको छ । मधेश आन्दोलनको प्रमुख केन्द्र मानिएको सप्तरी जिल्लाबाट नयाँ मन्त्री मण्डलमा नेता प्याकुरेलको नाम अत्यधिक चर्चामा रहेको पार्टीका एक नेताले बताए ।

श्रोतका अनुसार हालको मन्त्रीमण्डलमा कम्तिमा १० जना हेरफेर भए वा प्रधानमन्त्रीसहित २२ ओटा मन्त्रालयलाई विस्तार गरी २५ ओटा मन्त्रालय पुर्याए पनि नेता प्याकुरेलको नाम समावेश हुने अवस्था रहेको जनाईएको छ । यद्यपी वर्तमान मन्त्री परिषद् हेरफेर हुने विषय अझैं अन्यौलग्रस्त बनेको छ ।

अब बन्ने मन्त्रीमण्डलमा यहाँको नाम चर्चामा छ नी ? भनी जिज्ञासामा नेता प्याकुरेलले आफु तत्कालिन नेकपा एमाले हाल नेकपाको समर्पित कार्यकर्ताको रुपमा रहेको तथा पार्टीले दिएको जिम्मेवारी ईमानदारिताकासाथ वहन गर्दैआएको बताए । पार्टीमा निभाएको भूमिका तथा योगदानलाई मूल्याङ्कन गरेर आफुलाई पार्टीले थप जिम्मेवारी दिए राष्ट्रहितमा योगदान गर्न कुनै कसर बाँकी नराख्ने नेता प्याकुरेलले प्रतिक्रिया दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस