सप्तरीमा झाँक्रीकै चक्करमा बालकको ज्यान गएको खुलासा !

ललिता साह
राजविराज, १७ असोज । खाना खादै बेहोस भए पश्चात झाक्रीबाट झारफूक गराउन लगिएका सप्तरीको तिलाठी कोईलाडी गाँउपालिकाका वडा नम्बर ४ कोईलाडी टोलका ६ बर्षीय एक बालकको ज्यान गएको खुल्न आएको छ ।

आमाका अनुसार आफन्तले नै खानामा बिष हालेर छोरा बेहोस भएको र परिवारले अस्पताल जान नदिई धामीझाक्री कहाँ लगेका थिए । जसकारण समय खेर गयो र बच्चाले सही उपचार नपाएर बालक सोनुको ज्यान गएको छ ।

बिहानै ट्यूसन पढेर घर आए । खेल्दै केही पर रहेको काकाको घरमा जादैछु भन्दै मलाई भनेर गयो । धेरैबेरसम्म छोरा नआएर दिनको १ बजेतिर म ससुरा देवरहरू बसेको घरमा छोरा लिन पुगे । मैले त्यहाँ देखे काकाको घरमा सोनुलाई उनको हजुरबुबा र काकीले खान दिएको घोंघी भात खादा खादै छोरा सुतिसकेको अवस्थामा मैले उठाएर ल्याए र घरमा सुताए ।

सुतेकै अवस्थामा बच्चामा बेचैनी देखिनुका साथै मुखबाट घ्यार घ्यार आवाज आईरहँदा मैले निन्द्रा नपुगेर त्यस्तो रोएको होला सोचेर फेरी सुताएदिए । सुतेको एकछिनमै बच्चा उठेर जब उल्टी गर्दै फेरी बेहोस झैं गरें । मेरो बच्चा सुतेको नभएर बेहोस भएको थाहा पाएँ । अनि गाँउका छिमेकीहरूलाई मेरो छोरालाई के भएको भन्दै गुहार लगाए ।

गाउँलेकै सल्लाहमा बच्चा बेहोस छ । केही भयो भनेपछि आफू ४ सय रूपैयामा सिटी भाडा गरिसकेको र राजविराज अस्पताल लैजानै लाग्दा घर परिवारले बाटोबाट फर्काएर कोसी पलार नजिकै धामी झाँक्रीकोमा लगेर झारफुक गरी ठिक भैहाल्छ भन्दै बच्चालाई जबर्जस्ती घर ल्याउन लगाईयो । त्यसपछि मेरो छोरा मरेको आमा शोभाले बताईन।

उनले भनिन् ‘विहान १० बजे विष खुवाएको छोरालाई दिनभरी डाक्टरसँग ईलाज गराउन नपाओस भनेर ससुरा कैलु र देबर रघुनाथले सिटीबालालाई केही नभएको भन्दै फर्कायो र मसँग भएको सात सय रूपैयाँ समेत खोसिदियो । शोभा रूदै भन्छिन– त्यसको १२ घण्टासम्म छोरा छटपटाई रह्यो । विहान १० बजे बेहोस भएको मेरो छोरो राती ९ बजेसम्म बाँचेकै थियो, तर अस्पताल लैजान नदिएर राती १० बजे मेरो छोरा मर्यो । म हेरिरहे ती पापीहरूको अगाडि मैले केही गर्न सकिन्न ।

मरेलगतै बच्चालाई राती ११ बजे पोष्टमार्टमकोलागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल लगे पनि पोष्टमार्टमको रिपोर्ट भने आईनसकेको गाउलेहरू बताउँछन् । उनीहरूको घरमा विगत लामो समयदेखि ससूरा बुहारी बीच तनाव हुदै आएको र त्यो दिनको घटना बच्चालाई हजुरबुबाले नै खानामा विष खुवाएर मारेको कुरा मैले पनि सुने तर यसको बास्तविकता पोष्टमार्टमले नै बताउने वडा अध्यक्ष गोपी मण्डलले बताए ।

मेरो श्रीमान्लाई कुरा लगाएर झुठा कुराहरु भनेयता बर्षौदेखि न त मसँग कुरा गर्छ न पैसा दिन्छ । मेरो छोरालाई म दैनिक मजदुरी गरेर पालेका थिएँ । गारोसारो परेको बेला माईतीले सहयोग गरेर छोराको मुख हेरेर जीवन बाँचेका थिए । छोरालाई नै मारिदियो पापीहरू म अब कसरी बाँच्नु भन्दै शोभा डाँको छोडेर रोईन् ।

श्रीमान् ६ बर्षदेखि वैदेशिक रोजगारमा रहेको र छोरालाई ससुरा, देबर, देबरानीले खानामा बिष हालेर मेरो छोरा मारेको आमा शोभाको आरोप रहेको छ । शोभाले भनिन् –श्रीमान् विदेश गएको मौका छोपी ससुरा कैलु साहले विगत अढाई वर्षदेखि आफूसँग शारीरिक सम्बन्ध राख्न दबाब दिदै आएका थिए ।

कतिपटक जबर्जस्ती हात समातेको र मैले अस्वीकार गर्दा यस बिषयमा ठूलै झगडा भएपछि गाउँलेहरू प्रहरीमा जान नदिई स्थानीय स्तरमै कुरा मिलाउन लगायो, त्यसपछि मैले छुटै घर बनाएर बस्ने फैसला गरिदियो । ससुरा र देवरले त्यहा पनि मलाई दुःख दिन छोडेन । झन छुटै बसेको निहुँमा मेरो बच्चालाई बिष खुवाएर मारेको शोभाले आरोप लगाउँदै आएकी छिन ।

६ बर्ष अघि १५ लाख रुपैयाँ बराबरको दाईजो लिएर बिवाह गरेको र बिवाहको एक वर्ष नबित्दै श्रीमान बिदेश गएपछि आजसम्म मलाई र छोराको सोधखोज समेत नगरेको शोभाले सुनाईन् । श्रीमान्बाट समेत पीडित रहेकी शोभा श्रीमानलाई घटनाबारे सुनाउँदा छोरा मरेपछि के भयो त ! विदेशबाट आएर अर्को विहे गर्छु र फेरी छोरा जन्माईहाल्छु भनेर जवाफ फर्काएपछि आफू विलखबन्दमा परेको शोभाले बताईन् ।

घटना पश्चात पीडितले ससुरा कैलु देवर रघुनाथ र देवरानी पार्वती विरूद्ध प्रहरीमा दुई पटकसम्म जाहेरी दिँदा पनि प्रहरीले कुनै चासो नदेखाएपछि गाउँलेलाई नै गुहारे । घटनाको १० औं दिनमा १४ गते स्थानीय नेता छरछिमेकी वडा सदस्य समेतको उपस्थितिमा बसेको पञ्चायतले समेत उनीहरूले नै बच्चालाई बिष खुवाएको भनियो । तर दोषीलाई न त पञ्चायतले केही गरेको छ न प्रहरीले पक्राउ गरेको पीडित शोभाले सुनाईन् ।

प्रहरीमा जाहेरी गईसकेकोले यस प्रकारको गम्भीर घटनाको आरोपितलाई छानबिनकोलागि प्रहरी निकायले तत्काल पक्राउ गनुपर्ने हुन्छ तर यतिसम्म नगरिदिँदा हामीलाई समेत काम गर्न असजिलो भएको प्रादेशिक कानुनी सहायता केन्द्रकी प्रमुख तथा अधिवक्ता किरण साहले बताईन् ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी भुवनेश्वर साह भन्छन्– हामी कुनैपनि घटनाको अनुसन्धान विना त नत बाहिर ल्याउन मिल्छ न मानिस पक्राउ गर्न । यधपि हामी यस्ता घटनाको अनुसन्धानमा सकृयताले लागिरहेका छौं ।

पछिल्लो समय जिल्लामा बढ्दो हत्या, बलात्कार जस्ता गम्भीर घटनाको जाहेरी प्रहरीले लिनै नमान्ने तथा लिए पनि यतिकै टेबलमा थन्क्याएर कानून कार्यान्वयनको निकाय प्रहरीहरू समेत जनप्रतिनिधि र स्थानीय नेताहरूसँग मिलेर ठुलो रकमको चलखेल सहित घटनामा पीडितलाई सामाजिक मिलापत्रको दवाव खुल्लेआम दिने गरेको महिला अधिकारकर्मी अनिता देवकोटाको भनाइ छ ।

Author:



क्याटोगरी छान्‍नुहोस