असहज परिस्थितिमा आएको दशैं

२०७७ सालको बडादशैं सुरु भईसकेको छ । यस वर्षको दशैं विगतका तुलनामा फरक अनुभूतिका रुपमा उभिएको छ जसको कारण हो फैलिदो कोरोना संक्रमण । वर्षदिनमा यही पर्वका अवसर पारेर सालभर बाहिर रहेका आफन्तजन तथा ईष्टमित्रसित भेटघाटको अवसर जुराई दिने गरेको थियो दशैंले ।

टाढा–टाढा परदेशमा रहेकाहरु पनि घर फर्किने चाडका रुपमा रहेको दशैंमा अग्रजले दिएको आशिर्वाद शिरोधार्य गरी कर्म क्षेत्रमा लाग्ने सत्प्रेरणा ग्रहणको अवसर पनि रहने गरेको थियो । दुर्गा भवानीको पूजा अर्चना तथा गाउँघरमा लाग्ने मेलाले बातावरण नै रोमाञ्चित तुल्याउने गर्दथ्यो ।

खर्च गर्ने क्षमता नभएकाहरुकालागि पनि दशैं वर्ष दिनमा एक पल्ट भएपनि मीठो खाने र राम्रो लाउने अवसर थियो । तर, यसपालिको माहौल त्यस मुताबिक रहेन । कोरोना संक्रमण फैलन डरका कारण बाहिर रहेकाहरु पनि कमै फर्किएका छन् । विदेशमा रहेकाहरुकालागि आवतजावतको पनि अनुकूलता नरहेका कारणले उनीहरु उतै रहेको अवस्था छ ।

फेरि विश्वभरि फैलिएको कोरोनाको संक्रमण कति बेला हुने हो भन्ने भयका साथ समय बिताउने अवस्था आएको छ । यही कहरका कारणले कतिको ज्यानै गएको छ भने हज्जारौं अहिले संक्रमित भई उपचारका क्रममा रहेका छन् । यस्तो त्रासदीका बीच आएको बडादशैंले मानव मनमा उत्साह भर्न नसकिरहेको अवस्था छ ।

चाडपर्व मनाउने भन्दा पनि पहिला यस्तो महामारीबाट कसरी सुरक्षित रहन सकिन्छ भन्नेतिर लाग्नु नै अहिलेको मूल आवश्यकता बनेको छ । संक्रमणको गति तिब्र भएपछि सरकारले पनि अब कोरोना संक्रमितको उपचार सरकारले नगर्ने भन्दै हात उठाईसकेको छ ।

उसै पनि कोरोनाका कारणले धेरैको आर्थिक अवस्था दयनीय बनिसकेको बेलामा सरकारले यसरी जिम्मेवारीबाट पछि हट्दा क्षमतावान्ले त आफ्नै खर्चमा उपचार गराउलान् तर, जसको क्षमता नै छैन उसले कसरी ज्यान जोगाउने भन्ने चिन्ता समेत थपिएको छ ।

यस्तो विषम परिस्थितिमा नेपालीले कसरी निर्धक्कताका साथ कसरी दशैं मनाउलान् ? भन्ने प्रश्न उठ्दा पनि त्यसको चित्तबुझ्दो जवाफ पाउन सक्ने अवस्था छैन । परिस्थिति नै प्रतिकूल भएपछि कसैको केही लाग्दो रहेन छ । त्यस कारणले पनि अहिलेको यो प्रतिकूलतामा आफू लगायत अन्यको पनि स्वास्थ्य सुरक्षा कसरी गर्न सकिन्छ भन्ने नै यति बेलाको अहम् सबाल पनि हो ।

चाडपर्व फेरि पनि मनाईएला तर, त्यस अघि पहिले त जीउ ज्यानको सुरक्षा नै पहिलो प्राथमिकताको विषय हो । दशैंको यस माहौलमा भिडभाडबाट अलग रहने, सामाजिक दूरी कायम राख्ने, संक्रमण रोक्नकालागि आवश्यक सबै मापदण्डको पालना गर्नेतिर बढी जोड दिन जरुरी छ । फेरि पनि यसपालिको असहजतामा आएको दशैंमा मन्दिरमा भिडभाडका साटो घरबाटै माता दुर्गा भवानीको उपासना गरौं ।

प्रत्यक्ष भेटघाट भन्दा पनि भर्चुअल रुपबाटै भएपनि सद्भाव र शुभकामनाको साटासाट गरौं । आगामी वर्षको बडादशैं विगतको जस्तै महामारीबाट मुक्त भई उन्मुक्त बातावरणमा हर्षोल्लासका साथ मनाउन पाईयोस् । सबैमा विजयादशमीको मंगलमय शुभकामना ।

Author:



क्याटोगरी छान्‍नुहोस