राजविराज : सर्वसाधारणमा रोग र भोकको चिन्ता, जनप्रतिनिधिलाई भने १२ लाख दशैं भत्ता !

विद्यानन्द राम/सौरभ यादव
राजविराज, ६ कार्तिक । सप्तरीसहित देशभर नै प्रतिदिन कोरोना संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो छ । संक्रमण रोकथाम तथा नियन्त्रणको सन्दर्भमा गत असोज २३ गते बसेको जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीकोे बैठकले पनि परीक्षणको दायरा बढाउनुपर्ने निष्कर्ष निकाले । र, सोहीअनुसार परीक्षणमा आवश्यक पर्ने भिटीएम र रिएजेन्ट लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिदिन गृहमन्त्रालयमार्फत प्रदेश र संघ सरकारलाई अनुरोध गरे ।

तर, पछिल्लो समय सरकारले कोरोना परीक्षण र उपचार स्वयं सर्वसाधारण आफैले गर्नुपर्ने तथा संक्रमितको ‘होम आइसोलेसन’मा मृत्यु भएमा आफन्तले नै शव व्यवस्थापन गर्नुपर्ने जस्ता निर्णय गरेपछि सर्वसाधारणमा चिन्ता थपिएको छ ।

गत चैत्र ११ गतेबाट आह्वान गरिएको बन्दाबन्दी (लकडाउन) र त्यसपछिको निषेधाज्ञाले रोजगारी गुमाएका तथा ज्याला मजदुरीसम्म गर्न नसकेका सर्वसाधारणहरु अहिले रोग, भोक, अभाव, पीडा र कठिनाई भोगिरहेका छन् ।

सप्तरीका अधिकांश स्थानीय तहले छ महिनाको बन्दाबन्दी र निषेधाज्ञाको अवधिमा राहत स्वरुप १५–२० किलो चामल, २ किलो दाल, २ किलो नून, एक लिटर खाने तेल तथा केही मास्क र सावुनबाहेकका केही उपलब्ध गराउन नसकिएको सर्वत्र गुनासो छ ।

अहिले रोग, भोक, अभाव, पीडा र कठिनाई भोगिरहेकै बेला नेपालीहरुको महान चाड बडादशैं आएपनि सर्वसाधारणलाई दशैं भने लागेको छैन् । तर, राजविराज नगरपालिकाका जनप्रतिनिधिहरु भने दशैं मनाउनकालागि तमतयार देखिएका छन् ।

उनीहरुले दशैं मनाउनकालागि नगरपालिकाबाट दशैं भत्ता पनि लिइसकेका छन् । नगरपालिकाको तथ्यांकअनुसार मेयरदेखि वडा सदस्यसम्मले कुल १२ लाख १५ हजार रुपैयाँ चाडपर्व भत्ता वुझेका हुन् ।

महामारीले पीडित बन्न पुगेका सर्वसाधारणलाई अझैसम्म दशैं मनाउने सोचसम्म आएको छैन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसददेखि जनप्रतिनिधिले पाएको दशैं भत्ताको चौतर्फी विरोध चुलिदा कतिपयले पाएको भत्ता पनि फिर्ता गरिसकेका छन् । तर, राजविराज नगरपालिकाका जनप्रतिनिधिमा भने जनताप्रतिको उत्तरदायित्वभन्दा पनि भत्ता मोह नै ठुलो देखिएको नागरिक अगुवाहरु बताउँछन् ।

कसले कति भत्ता पाए ?

राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव, उप मेयर साधना झासहित ७३ जना जनप्रतिनिधि र ८ जना कार्यपालिका सदस्य गरी कुल ८१ जनाले नै चाडपर्व भत्ता वुझेका छन् ।

वडा अध्यक्षहरु चन्द्र शेखर चौधरी, अरुणकुमार यादव, सुदर्शन प्रसाद सिंह, अख्तर अलि मियाँ, समिर झा, प्रेमकुमार यादव, मागिलाल नाई, जयनारायण मण्डल, शम्भुप्रसाद यादव, सुशिलकुमार दास, संजयकुमार यादव, हरिहर यादव, राजेन्द्र प्रसाद यादव, शोभा लाल मण्डल, राम प्रसाद यादव र बुचाई दासले भत्ता वुझेका हुन् ।

मेयर, उप मेयर, वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुले १५–१५ हजारको दरले भत्ता वुझेको नगरपालिकाको तथ्यांकमा उल्लेख छ ।

के भन्छन् जनप्रतिनिधि ?

मेयर यादवले नियमअनुसार नै चाडपर्व भत्ता वुझेपनि महामारीको विषम परिस्थितीलाई हेरेर भत्ता रकम फिर्ता गर्ने घोषणा नै गरे ।

‘चाडपर्व भत्ता वुझे तर म तत्कालै फिर्ता गर्छु’ मेयर यादवले भने–‘अहिलेको विषम परिस्थितीमा दशैं मनाउने समय नरहेकोले स्वेच्छाले नै म भत्ता रकम फिर्ता गरेर चाडवाडको अवधिभर थप कटिवद्ध भएर कोरोना विरुद्ध कार्य गर्छु ।’

उनले कोरोनाबाट जोगिनकालागि चाडबाडको बेला थप सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस