सरकारी कार्यालयमै संक्रमणको बढी जोखिम !

सप्तरीका सरकारी कार्यालयहरुमा सेवाग्राहीहरु दैनिक रुपमा आउने गर्दछन् । कार्यालयका कर्मचारीदेखि सेवाग्राही समेत कोरोना संक्रमणको जोखिममा नपरुन् भन्नाकालागि ती कार्यालयहरुले सुरक्षाका उपाय चाहिँ अबलम्बन गरेको देखिँदैन ।

मालपोत, जिल्ला प्रशासन लगायतका कार्यालयहरुमा त सेवाग्राहीहरुको अत्यधिक चाप रहने गरेको छ । यसैगरी बैंकहरुमा पनि बढी ग्राहक आउने गरेका कारण संक्रमणको जोखिम पनि बढेको छ ।

कोरोनाबाट बढी प्रभावित जिल्लामा सप्तरी पनि पर्दछ । सुरुका दिनमा कोरोना संक्रमण नबढोस् भनेर लकडाउन तथा त्यसपछि निषेधाज्ञा जारी गरियो । तर, अहिले ती सबै आदेश फिर्ता लिईएको छ भने संक्रमणबाट जोगिनकालागि अपनाउनु पर्ने स्वास्थ्य मापदण्डको पालनाकालागि स्थानीय प्रशासनले सबैमा आग्रह पनि नगरेको होईन ।

अहिले चाडबाडको समय भएका कारण बजारमा पनि चहलपहल बढेको अवस्था छ । यसै गरी बैंक तथा सरकारी कार्यालयहरुमा सेवाग्राहीहरुको उत्तिकै चाप छ । संक्रमणबाट जोगिनकालागि अपनाउनु पर्ने सुरक्षाका उपाय बारे ध्यान नदिँदा जिल्ला प्रशासन,मालपोत लगायतका सरकारी कार्यालयका कर्मचारीहरु कतिपय संक्रमित पनि भईसकेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा त कोरोनाकै कारण एक कर्मचारीको निधनै भईसकेको छ । तथापि अहिले पनि ती कार्यालयहरुमा स्वास्थ्य मापदण्डको पालना नगरीकन आवागमन जारी देखिन्छ । भिड बढेपछि जिल्ला प्रशासनले दुई दिनदेखि टोकन प्रणाली लागु गरेर सेवा दिन थालेको छ । तर, मालपोत कार्यालयमा पनि अत्यधिक भिड रहने गरेको भएपनि त्यहाँ यस्तो व्यवस्था हुन सकेको छैन ।

सेवाग्राही मास्क पनि नलगाईकन कार्यालयमा आउँदा पनि कसैले रोकटोक गरेको देखिँदैन । यस्तै सामाजिक दूरी कायम गराउने,हात धुने र सेनिटाईजरको पनि व्यवस्था नभएका कारणले संक्रमणको जोखिम सरकारी कार्यालयहरुमा पनि बढेको अवस्था छ ।

कोरोना संक्रमणबाट जोगिनकालागि सुरक्षाका उपायका बारेमा हेलचेयाइँ कुनै पनि सर्तमा स्वीकार्य हुन सक्दैन । मालपोत कार्यालयमा यस अघि नै १६ कर्मचारी संक्रमित भईसकेका छन् । सामाजिक दूरी कायम गराउनकालागि पालैपालो काम गर्ने व्यवस्था मिलाउन नसकिएका कारणले पनि जोखिम बढेको छ ।

यसैगरी जथाभावी थुक्ने,फोहर गर्ने परिपाटीमाथि पनि नियन्त्रण भएन भने जोखिम अझै बढेर जाने निश्चित छ । राजविराजमा रहेका कतिपय सरकारी कार्यालयमा सेवाग्राहीकालागि सौचालयको समेत अभाव छ ।

यसले गर्दा कार्यालय परिसरभित्रै पनि खुला सौच गरेको देखिनु यहाँकालागि नौलो कुरा रहेको छैन । स्वस्थ्य रहनकालागि सरसफाई त सधैं आवश्यक रहने कुरा अकाट्य नै छ । त्यसमाथि अहिले संक्रमण बढिरहेको समयमा त यस विषयमा अझै चासो रहन जरुरी छ । सरकारी कार्यालयलगायत सार्वजनिक स्थलहरुमा सामाजिक दूरी कायम गराउन तथा संक्रमणबाट जोगिने हरसम्भव उपायको अबलम्बन जरुरी देखिन्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस