भन्सार तिर्ने व्यवसायीलाई प्रहरी प्रशासनले दुःख दिईरहेको छः अध्यक्ष प्रधान

राजविराज, २१ कार्तिक । सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधानले भन्सार तिरेर पनि सामान ल्याउँदा प्रहरी प्रशासनले उद्योगी व्यवसायीहरुलाई अनावश्यक रुपमा दुःख दिने काम गरिरहेको बताएका छन् ।

दिपावली, छठ तथा नयाँ सम्वत्को अवसरमा संघको भवनमा शुक्रवार पत्रकारहरुसँगको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन आह्वान गरिएको लकडाउन, निषेधाज्ञा तथा असहज परिस्थितिका कारण व्यापार व्यवसाय धारासायी बन्न पुगेको अवस्थामा प्रोत्साहन पाउनुपर्नेमा सरकारी निकायबाटै अनावश्यक दुःख दिने काम भईरहेको बताउँदै उनले भने ‘एक त हाम्रो व्यापार व्यवसाय त्यसै चौपट भएको अवस्था छ, विस्तारै पसल व्यवसाय खुल्न थालेको छ तर भारतबाट सामान ल्याउँदा बकायदा भन्सार राजश्व तिरेर ल्याउँदा पनि लिगल सामानलाई इलिगल भन्दै प्रहरी प्रशासन सामान नियन्त्रणमा लिएर दुःख दिएर मनोबल गिराउने काम गरिरहेको छ ।’

सम्वन्धित निकायहरुमा पटक पटक आग्रह गर्दा पनि बेवास्ता गर्ने गरेकोले जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायीहरुले गलत प्रवृति विरुद्ध आन्दोलन गर्नुको विकल्प नरहेको उद्योग वाणिज्य संघका अध्यक्ष प्रधानले बताए । सरकारी तथा निजी बैंकहरुबाट ऋण लिएर व्यापार व्यवसाय गरिरहेकाहरु व्याज तिर्न नसक्दा झन समस्यामा रहेको बताउँदै उनले भने ‘व्यवसायीहरुको कारोबार नै नचलेको अवस्थामा व्याज तिर्नु चुनौती जस्तै भएकोले लकडाउन अवधीको व्याज मिनाहा वा बुझाउने समय थप गर्न हाम्रो आग्रह छ, तर अहिलेसम्म सरकारले यस विषयमा ठोस रुपमा प्रस्तुत हुन सकेको छैन ।’ उद्योगी व्यवसायीहरुको समस्याको विषयमा कलम चलाएर सहयोग गरिदिन उद्योग वाणिज्य संघका अध्यक्ष प्रधानले पत्रकारहरुसँग आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले लकडाउनका कारण प्रायः सबै क्षेत्र प्रभावित भएको भन्दै सहज अवस्थामा फर्किन अझैं समय लाग्ने बताए । व्यवसायीहरु समेत लकडाउनको मारमा परेको भन्दै सप्तरीका पत्रकारहरु सधैं पीडितको पक्षमा कलम चलाउँदैआएको उनले बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघका महासचिव अनन्त कुमार साहद्वारा सञ्चालित कार्यक्रममा संघका पदाधिकारीहरुका साथै कार्यालय सचिव ललित झा समेतको उपस्थिति थियो । सोही कार्यक्रममा संघको तर्फबाट उपस्थित पत्रकारहरुलाई केएन ९५ मास्क, सेनिटाइजरसहितका सामग्री उपलब्ध गराईएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस