भोज खर्चको रकम दलित एवम् अति विपन्न परिवारमा लगाईने

राजविराज, १ मंसिर । वर्तमान विषम अवस्थामा पनि एकपछि अर्को गरी सभाभोजहरु आयोजना भईरहँदा सप्तरीका एक राजनीतिकर्मीले भोज खर्चको रकम जनहितमा खर्चिने भएका छन् ।

सप्तरीको विष्णपुर गाउँपालिका वडा नम्वर १ खुरहुरिया निवासी जनता समाजवादी पार्टीका नेता सुरेन्द्र प्रसाद यादवले भोजमा खर्च हुने रकम गरिब, दलित एवम् अति विपन्नकालागि खर्चिने निर्णय गरेका हुन् । तत्कालिन मलेकपुर गाउँ विकास समितिका पूर्व अध्यक्ष समेत रहेका उनकी आमा लडुबति यादवले एक महिने तुलसी उद्यापन महायज्ञ गरेकी थिईन् ।

विश्वव्यापी महामारी कोभिड १९ को सङ्क्रमण समेतलाई मध्यनजर गर्दै आफुले नातागोता एवम् परिजनलाई समेत घरमा आमन्त्रित नगरी महायज्ञ सम्पन्न गरेको उनले बताएका छन् । वर्तमान विषम अवस्था समेतलाई मध्यनजर गर्दै उनले सोमवार बिना तामझाम तुलसी उद्यापन महायज्ञ सम्पन्न गरेका छन् । आफन्तजनलाई समेत घरमा आमन्त्रित नगरिएकोमा उनले दुःख समेत व्यक्त गरेका छन् ।

जनता समाजवादी पार्टीका नेता यादवले भोजमा खर्च हुने रकमबाट बिष्णुपुर गाउँपालिकाका गरिब, दलित, अतिविपन्न परिवारमा आयआर्जन एवम् स्वरोजगारकालागि १० थान सिलाई मेसिन र सामुहिक रुपमा उपयोग गर्नकालागि १० थान खानेपानी ट्युवेल वितरण गर्ने बताएका छन् । सिलाई मेसिनकालागि लक्षित परिवार तथा खानेपानी ट्युवेलकालागि उचित स्थान चयन गरेर यथाशक्य चाडै उक्त सेवा उपलब्ध गराउने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस