ईज्जत जाने डरले आफ्नै आमाबुवाद्वारा अमृताको हत्या गराएको खुलासा

राजविराज । ईज्जत जाने डरले आफ्नै आमाबुवाद्वारा योजना बनाएर रौतहट माधवनारायण नगरपालिका–७ लौकाहाकी अमृताकुमारी साहलाई गोली हानेर हत्या गराएको खुलेको छ । बुवा ५५ वर्षीय राम अयोध्या साह र आमा सीतादेवी साहसहित हत्या आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरी आज (आइतवार) सार्वजनिक गरेपछि सो कुरा बाहिरिएको हो ।

पक्राउ पर्नेमा रौतहटकै देवाही गोनाही–२ लक्ष्मिनिया करुनियाँका ६० वर्षीय शेख अलियास, सोही ठाउँका ४० वर्षीय बहुदल भनिने इस्लाम अंसारी, ३६ वर्षीय शेख ईम्ताज र परोना नगरपालिका–४ का ४६ वर्षीय छोटेलाल साह छन् ।

ईज्जत जाने डरले अमृतका वुवा र अमृताका भिनाजु लक्ष्मण साहले रौतहटको देवाही गोनाही–२ का कैमुल देवानलाई १ लाख रुपैयाँ दिएर गोली हानेर हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको २ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

उनीहरुमाथि ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको तथा प्रारम्भिक अनुसन्धानमा अभियुक्तहरुले अपराध स्वीकार समेत गरिससकेको प्रहरीले जनाएको छ ।

यसरी घटाइयो घटना

सोही ठाउँका ३० वर्षीय थारु भनिने सोसिन्द्र प्रसाद भगतसँग ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेकी १७ वर्षीया अमृताको पारिवारीक दवावका कारण २०७६ फागुनमा सर्लाही विष्णु गाउँपालिका–३ का रुपेश साहसँग मागी विवाह भयो ।

विवाहपछि रुपेशमाथि ज्यान मार्नेसम्मको आक्रमण भएपछि अमृतालाई माइती फिर्ता पठाए । दुवैबीच २०७७ असारमा सम्बन्ध विच्छेद पनि भयो । सम्बन्ध विच्छेदसँगै रुपेशको परिवारले अमृता र उनका प्रेमी भगतमाथि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ज्यान मार्ने मुद्दा दर्ता गरे ।

उता अमृता र भगतबीच रहेको प्रेम सम्बन्ध बुवाआमालाई स्विकार्य थिएन । रुपेशको परिवारले दर्ता गराएको मुद्दामा छोरी पक्राउ परे ईज्जत जाने, प्रेमीसँग भागी जाने र समाजमा अपहेलित हुने डरले बुवा राम अयोध्या र भिनाजु देवाही गोनाही–२ का लक्ष्मण साहले परोहा नगरपालिका–२ का छोटेलाल साहसँग मिलेर हत्याको योजना बनाए ।

अमृतालाई उपचारको भारतमा लग्ने र त्यही मार्ने योजना तयार गरेर छोटेलाललाई १ लाख ५० हजार रुपैयाँ पनि दिए । तर गत कार्तिक ९ गते हत्या गर्ने बनाइएको योजना असफल भए । त्यसपछि बुवा र अमृताका भिनाजुले फेरी अर्को किलर हायर गरे । देवाही गोनाही–२ का कैमुल देवानलाई १ लाख रुपैयाँ दिएपछि कार्तिक २६ गते राति आफ्नै माइतीघरमा अमृताको हत्या भयो ।

अमृता आमासँग सुतिरहेकी थिइन । मध्य राति उनकी आमा ट्वाइलेट गएको बेला तीहरुले कोठामा पसेर अमृताको दाहिने पट्टिको कन्चटमा गोली हानेर फरार भएको र अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरिएको २ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस