सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बिराटनगर, १० पौष  । झापा र उदयपुरमा बिहिवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

विहिवार दिउँसो सवा ४ बजेको समयमा झापाको कन्काई नगरपालिका ४ कोटीहोम छेउमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको डब्लु बी ६१ ए ९३८५ नम्बरको ग्यास बोक्ने ट्याङ्करले विपरित दिशाबाट आउँदै गरेको मे ११ प ३५८३ नम्बरको मोटरसाईकलाई ठक्कर दिएको थियो ।

ट्याङकरको ठक्करबाट मोटरसाईकल चालक ईलामको माई जोगमाई गाउँपालिका ४ का ४० बर्षीय शुभराज लिम्बु र सोही मोटरसाईकलको पछाडी सवार रहेका निजकै भाइ ३६ बर्षीय चन्द्र कुमार लिम्बु घाईते भएका थिए । घाईतेहरुलाई उपचारकोलागि बि.एण्ड.सि. अस्पताल लगिएकोमा उपचारको क्रममा मोटरसाईकलमा पछाडि सवार रहेका चन्द्र कुमार लिम्बुको बेलुका पौने ७ बजे मृत्यु भएको तथा ट्याङकर र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ ।

यसैगरी उदयपुरको कटारी नगरपालिका १ चुरिया जंगलमा ना ३ ख ४३२१ नम्बरको मालवाहक ट्रकले प्रदेश ३–०२–०१३ प ००७४ नम्बरको मोटरसाईकलाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । विहिवार साँझ पौने ६ बजेको समयमा मिर्चैयाबाट कटारीतर्फ जाँदै गरेको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको उक्त ट्रकले ठक्कर दिँदा मोटरसाईकल चालक दुधौली नगरपालिका ११ का ५० बर्षीष दिपक कार्कीको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस