प्रदेश १ मा पछिल्लो ८ महिनामा चार हजार ६८९ जनामाथि मुद्दा दर्ता

विराटनगर, ४ चैत । प्रदेश १ प्रहरीले चालु आर्थिक वर्षको ८ महिनामा विभिन्न अपराधिक क्रियाकलापमा संलग्न ४ हजारभन्दा बढीमाथि मुद्दा दर्ता गरेको छ । अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल गरिएसँगै ४ हजार ६८९ जनामाथि मुद्दा दर्ता गरेको हो ।

प्रदेश १ नम्वर प्रहरी कार्यालयका अनुसार सोही अवधिमा २७ करोड १५ लाख ३७ हजार ४७० राजश्व संकलन गरिएको छ । यसैगरी, फैसला कार्यान्वयनतर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ५३९ जनालाई पक्राउ गरी ६४२ बर्ष कैद भुक्तान गर्न पठाइएको छ । उनीहरुबाट २ करोड ३ लाख ४२ हजार ७ सय ४४ रुपैयाँ राजश्व संकलन गरिएको छ ।

यसैगरी लागुऔषध नियन्त्रणतर्फ १ हजार ६५१ दशमलव ६८१ ग्राम ब्राउनसुगर, १ हजार १३१ दशमलव ७९० किलो गाँजा बरामद गरिएको छ । मनोद्धिपक क्याप्सुल ३४ हजार ९५९ ट्याब्लेट, मनोद्धिपक सुई ५ हजार ३०५ एम्पुल, मनोद्धिपक औषधीहरु १ हजार ८६४ ट्याब्लेट बरामद गरिएको जनाएको छ ।

यसैगरी २ हजार ४२३ रोपनीमा लगाइएको ८ लाख ७६ हजार ५४१ गाँजा बोट फडानी गरी नष्ट गरिएको छ । भन्सार चोरी निकासीतर्फ अबैध रुपमा समान चोरी निकासी गर्ने १४२ जनालाई पक्राउ गरिएको छ भने उनीहरुबाट १३ करोड १८ लाख ६ हजार ८०६ रुपैयाँ राजश्व संकलन गरिएको छ ।

यसैगरी नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने १४० जना र नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने ५९८ वटा सवारी साधनलाई पक्राउ गरिएको छ भने ४५ लाख ६६ हजार ७२० राजश्व संकलन भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अबैध काठ चोरी निकासी गर्ने ४१ जनालाई २ हजार ३७ क्यू.फिट. काठ बरामद गरी ३० लाख ९५ हजार २०० रुपैयाँ राजश्व संकलन गरिएको छ । ट्राफिक व्यवस्थापनतर्फ सोही अवधिमा ट्राफिक नियम उलंघन गर्ने १ लाख ७९ हजार ३४९ वटा सवारी साधनलाई कारवाही गरिएको छ । उनीहरुबाट ११ करोड १७ लाख २६ हजार राजश्व संकलन गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस