प्रदेश २ मा विद्युत प्रणाली सुधार गर्न ४ अर्बको ठेक्का सम्झौता

जनकपुरधाम । प्रदेश २ मा विद्युत प्रसारण र वितरण प्रणाली सुधार गर्न चार अर्ब रुपैयाँको ठेक्का सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच बुधबार प्रदेश २ ग्रामिण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

आयोजनामार्फत प्रदेश नं २मा पर्ने जिल्लाहरुको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणहरुसहितका ३३/११ केभी, १६..६ एमभीए क्षमताका ८ वटा सबस्टेसनको निर्माण गरिने छ । यसैगरी, ३३/११ केभी, ८ एमभीए क्षमताका दुई वटा सबस्टेसनको निर्माण गरिने छ ।

उक्त सबस्टेसनको क्षमता १४८.८ एमभीए हुनेछ भने प्रदेश २ का जिल्लाहरुमा ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन र एक हजार सर्किट किलोमिटर चार सय भोल्टको नयाँ लाइन निर्माण गरिने छ ।

आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले ३ करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । यो अनुदान एसियाली विकास बैकमार्फत संचालित हुनेछ । प्राधिकरणले गरेको अन्तर्राष्ट्रिय टेण्डरमा सबैभन्दा कम बोलकबोल गरेर टाटा प्रोजेक्ट, भारतले ठेक्का पाएको छ । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन हुने आयोजनालाई ५ लटमा विभाजन गरिएको छ ।

सम्झौतापत्रमा आयोजना प्रमुखहरु विमल चौधरी (लट १), रोशन खड्का (लट २ र ४), रन्धिर पाठक (लट ३) र अमित भगत (लट ५), लेखा प्रमुख विष्णुप्रसाद आचार्य, इन्जिनियहरु वसन्त नेपाल र विसम विनोद खनालले र टाटा प्रोजेक्टकातर्फबाट महाप्रवन्धकहरु श्याम नारायण मित्तल र मनोज कुमार पटनायकले हस्ताक्षर गरे । आयोजनाको निर्माण ठेक्का सम्झौता कार्यान्वयनमा आएको ९ सय दिन अर्थात ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस