इटहरी उपमहानगरवासीले वातावरण शाखामा लगाए ताला

विराटनगर । इटहरी उपमहानगरपालिकाको वातावरण शाखा र वेष्ट इन्भारो म्यानेजमेन्ट प्रालिको कार्यालयमा तालाबन्दी भएको छ । उपमहानगरले फालेको फोहोरका कारण चरम सास्ती खेप्नु परेको भन्दै स्थानीयले फोहोर सङ्कलन गर्ने प्रालीको कार्यालय र वातावरण शाखामा तालाबन्दी गरेका हुन् ।

इटहरी–१९ भवानीपुरका स्थानीयले सेउती खोला छेउमा फालेको फोहोर आगो लगाउँदा धुवाँले बस्ती नै जोखिममा परेको आक्रोश व्यक्त गर्दै तालाबन्दी गरेका छन् । गाउँमा बिहान र रातको समयमा प्लास्टिकजन्य तथा बिजुलीका तारबाट तामा निकाल्नलागि फोहोरको डङ्गुरमा अदृश्य रूपमा आगो लगाउँदा राती सुत्न सक्ने अवस्था नरहेकाले तालाबन्दी गर्न बाध्य भएको स्थानीय गायत्री पुरीले बताए ।

धुवाँका कारण कहिले श्वास फेर्न समस्या हुने, बान्ता हुने गरेको स्थानीयहरु बताउँछन् । केही दिन यता दिनहुँ धुवाको आउँदा बालबालिका र बृद्धावृद्ध बढी समस्यामा परेकाले केही परको खाली ठाउँमा समेत राख्ने गरेका छन् । बर्षौ देखिको समस्यामा गाउँहरूले पटक पटक उपमहानगरलाई भन्दा पनि बेवास्ता गरेका कारण तालाबन्दी गर्नु परेको अर्का स्थानीय कृष्ण चौलागाईले बताए ।

उता, वातावरण शाखाका प्रमुख पुष्प नारायण चौधरीले स्थानीयले उठाएको आवाजलाई तत्काल कार्यान्वयन गर्ने बताए । उनले आगो लगाउने कार्यलाई थप कडाई गर्दै आगो लागे तत्काल डोजर, दमकलको व्यवस्था गरिने बताए ।

उनले स्थानीयले छलफलबाट समस्या समाधान गनुपर्नेमा ताला लगाएको प्रति आपत्ति जनाए । यसैबीच जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्देशनमा ताला फोडेर कार्यालय सञ्चालन गरिएको छ । यता, प्रालीले यही चैत्र महिनाभित्रै इटहरी–१० मा बन्दै गरेको डम्पिङ साइड निर्माणको काम गरिसकेको भन्दै वैशाखबाट स्थानीयको समस्या समाधान हुने प्रतिक्रिया दिए ।

इटहरी उपमहानगरबाट दैनिक करिब ५० टन भन्दा माथि सड्ने नसड्ने सम्पूर्ण फोहोर धरान र तरहराको बिचमा पर्ने चारकोशे झाडीको सेउती खोलामा फालिँदै आएको छ । उपमहानगरको चरम बेवास्ताले इटहरीका १७, १८ र १९ वडाका स्थानीय आजित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस