लहानका एक सुनचाँदी व्यवसायीको गोली हानेर हत्या

लहान, २९ चैत । सिरहामा गएराति एक सुनचाँदी व्यवसायीको हत्या भएको छ । पसल लुट्न आएका ६/७ जनाको हतियारधारी समूहले लहान नगरपालिका–२२ का प्रदिप मिझारको हत्या गरेको हो । उनी वडा नम्वर २३ गढिया चौकमा पसल गर्दै आएका थिए ।

शनिबार राति पौने १२ बजेतिर हतियारधारी समूहले मिझारको टाउको, अनुहार र हातमा खुकुरी प्रहार र छातीमा गोली हानेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी डा. तपनकुमार दाहालले बताए । घाइते मिझारको लहानस्थित सप्तऋषी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान साढे चार बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो समूहले सुनचाँदी र नगद पनि लुटपाट गरेका छन् । हत्या गरिएका मिझारकी श्रीमती अनिता दुलाल पनि घाइते छन् । दाहिने हातमा खुकुरी प्रहारबाट घाइते भएकी अनिताको सप्तऋषी अस्पतालमा उपचार भइरहेको छ ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले लहान नगरपालिका–७ का रामकृष्ण चौधरी र लहान नगरपालिका–२३ का सूर्य सहनीलाई फलामको छिनोसहित नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान गरिरहेको डीएसपी दाहालले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस