एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

जनकपुरधाम । यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आन्तरिक मूल्यांकनबाट हुने भएको छ । सरकारले यस वर्षको एसईई परीक्षा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोनाका कारण भौतिक रूपमा परीक्षा सम्भव नभएकाले आन्तरिक मूल्यांकनबाट परीक्षा गर्ने प्रस्ताव क्याबिनेटमा लगेको थियो ।

सोमबार बसेको मन्त्रित्रपरिषद् बैठकले शिक्षा मन्त्रालयको उक्त प्रस्तावलाई पारित गर्दै एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधिअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

यसअघि एसईईलाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले शिक्षा मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो । मन्त्रालयमा सोमबार दिउँसो बसेको मन्त्रीस्तरीय बैठकले उक्त प्रस्तावलाई क्याबिनेटमा लैजाने निर्णय गरेको थियो ।

यही १३ जेठदेखि एसईई परीक्षा सञ्चालन गर्ने गरी तयारी गरेको बोर्डले कोरोना भाइरसको महामारी पुनः फैलिएसँगै अर्को सूचना जारी नभएसम्मका लागि २७ वैशाखमा सूचना जारी गरी परीक्षा स्थगन गरेको थियो । देशभर ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारीमा छन् ।

गत वर्ष पनि अहिलेको जस्तै अवस्था आएपछि सम्बन्धित विद्यालय आफैँले आन्तरिक मूल्यांकन गरी पठाएको अंकका आधारमा बोर्डले नतिजा प्रमाणीकरण र सार्वजनिक गरेको थियो । तर, विद्यालयले मूल्यांकन गर्दा जथाभावी नम्बर दिएको भन्दै आलोचना भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस