सप्तरीका हटिया लगाइने क्षेत्रमा अनिश्चितकालका लागि आवागमन निषेध

राजविराज, २३ वैशाख । सप्तरी प्रशासनले बढ्दो कोभिड–१९ को संक्रमणलाई रोकथाम गर्न शहरी क्षेत्रमा लगाइने हटिया (हाट) क्षेत्रमा अनिश्चितकालका लागि आवागमन निषेध गर्ने निर्णय गरिएको छ । विहिबार विहान बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकबाट शनिवार (वैशाख २५ गते) मध्यरातिबाट लागु हुने गरी हटिया क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

निर्णय अनुसार सदरमुकाम राजविराज, रुपनी, कठौना, कल्याणपुर, खर्चुहिया, पातो, बोदे बरसाईन, तोपा बजार, महुली बजार, पत्थरगाढा, तोपा, छिन्नमस्ता, जिरिया हटिया, मंसापुर, हनुमान नगर, भारदह, बरमझिया, कञ्चनपुर, फत्तेपुर, वीरेन्द्र बजार, महुलीसहितका शहरी क्षेत्रका हटिया क्षेत्रमा आवागमन निषेध गरिएको छ ।

सोही बैठकले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र पिसिआर परिक्षणकालागि स्वाब संकलन स्वास्थ्य कार्यालय र स्थानीय तहले गर्ने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी (सिडिओ) फणिन्द्रमणी पोख्रेलले जानकारी दिए । संक्रमित बढेको क्षेत्रलाई स्थानीय तहले स्वास्थ्य कार्यालय र स्थानीय प्रहरीसँगको समन्वयमा सो स्थान वा घर सिल गर्ने निर्णय भएको छ भने प्रत्येक स्थानीय तहले ७ दिनभित्र २०–२० बेडको आइसोलेसन तयार गर्ने निर्णय भएको उनले बताए ।

बैठकबाट यहाँका २ वटा निजी अस्पताल छिन्नमस्ता र युनिक अस्पतालले ५ दिनभित्र कोरोना संक्रमितको उपचारको लागि आइसोलेसन केन्द्र सञ्चालन गर्ने व्यवस्था मिलाउने र उपचार खर्च र भुक्तानीका लागि सरकारले तोकेको मापदण्ड अनुसार सम्बन्धित अस्पतालले माग गर्ने निर्णय भएको सिडिओ पोखरेलले बताए ।

यसैगरी अस्पताल क्षेत्रमा भीडभाड कम गर्न आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गर्न गजेन्द्रनारायण सिंह अस्पतालाई अनुरोध गर्ने र सो अस्पताल लगायतका सरकारी अस्पतालमा कार्यरत चिकित्सक लगायत स्वास्थ्यकर्मी संक्रमित हुनसक्ने अवस्थालाई मध्यनजर गरी क्लिनिकहरुमा दिँदै आएको सेवा बन्द गर्ने तथा अन्य निजी क्लिनिकहरुलाई स्वास्थ्य मापदण्डको पालना गरेर सञ्चालन गर्ने अनुरोध गर्ने निर्णय भएको जनाएको छ ।

बढ्दो संक्रमण देखिएको सप्तरीमा हाल २२७ जना सक्रिय संक्रमित छन् भने संक्रमणबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस