नेपालमा अन्तर्राष्ट्रिय उडान सेवा पनि बन्द

जनकपुरधाम, २४ वैशाख । नेपालमा गए रातिदेखि अन्तर्राष्ट्रिय उडान सेवा बन्द भएको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो ।

नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप दुई देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्नेछ ।

उनीहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौँका विभिन्न आठ होटल सूचिकृत गरिसकेको छ । मन्त्रिपरिषद्को वैशाख १९ मा भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै स्थगन गर्ने निर्णय गरेको थियो ।

यस अवधिमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने उड्डयन प्राधिकरणले जनाएको छ । आन्तरिक र अन्तरराष्ट्रिय चार्टड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण पालना हुनेगरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस